आईसीसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको टोलीलाई क्यानले जनही अढाई लाख दिने

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार रुपियाँ दिने निर्णय गरेको छ । 

क्यानले आज बिहीबार विज्ञप्ति जारी गर्दै टी– २० विश्वकप २०२५ का लागि छनौट भएको यू–१९ नेपाली महिला क्रिकेट टिमका खेलाडीहरूलाई उक्त दरमा रमक दिने निर्णय गरेको हो । 

Advertisement

साथै क्यानले यू– १९ महिला टिमका टिम अफिसियलहरूलाई जनही एक लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आईसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।

एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी)काअनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

Advertisement