काठमाडौंः सरकारले ल्याएको नयाँ नीतिपछि निजी विद्यालयले आफ्ना विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक र झोला बेच्न नपाँउने भएका छन् । विद्यालयले अभिभावकबाट लिएको चर्को शूलक पनि फिर्ता गर्न पर्ने भएको छ ।
केही समय यता विद्यार्थीहरुले चर्को शूल्क वृद्धि फिर्ताको माग राख्दै आएका थिए । शनिवार शिक्षा मन्त्रीसमेतको उपस्थितीमा भएको वार्तामा पाँच बुधे सहमती भएपछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
सहमती पत्रमा विद्यालय कम्पाउण्ड भित्र झोला, डे्रस र पाठ्यपुस्तक बिक्री वितरण रोक्ने उल्लेख गरिएको छ । निजी विद्यालयले विभिन्न बाहानामा विद्यार्थीबाट चर्को मूल्य लिँदै आएका छन् । विद्यार्थीहरुले विगतमा विद्यालयले झोला, किताब र स्कुल ड्रेसको नाममा चर्को नाफा लिँदै आएको बताए ।
यस्तै विद्यालयले विगतमा लिएको चर्को शुल्क फिर्ता गर्ने सहमती भएको छ । निर्देशिका पालना गर्न अनुगमन समिति बनाई स्थानीय तहले अनुगमन गर्न मन्त्रालयले सहजीकरण गर्ने सहमती पनि भएको छ ।
सरकारसँग उक्त सहमती भएपछि विद्यार्थीहरुले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् ।