‘आइएमओ कल’ मार्फत ठग्ने पक्राउ

Advertisement

बागलुङः ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी ३५ वर्षीया विष्णु नेपालीलाई २५ लाख रुपियाँको चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्रीले चिट्ठा परेको २५ लाख रुपियाँ पाउन नेपालीलाई एक लाख रुपियाँ गुल्मीमा रहेको प्रभु बैंकको खातामा जम्मा गर्न भनेका थिए । जसमध्ये नेपालीले पहिलो किस्ताबापतको ३५ हजार बैंकमा जम्मा गरिसकेकी थिइन । खत्रीले दोस्रो किस्ता रकम माग गरेपछि आफू ठगिएको हुनसक्ने आशंकामा नेपालीले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन ।

नेपालीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीमार्फत खत्रीलाई नियन्त्रणमा लिइएको बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए । ठगी घटनाका आरोपित खत्रीलाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ ।

“यस्तै प्रकृतिको अन्य ठगी घटनामा खत्रीको संलग्नताबारे अनुसन्धान गरिरहेका छौँ,” थापाले भने । प्रहरीका अनुसार खत्रीले प्रभु बैंक शाखा कार्यालय गुल्मीमा रहेको खाता नं १२९१०७०१०१४६३४०००००१ मा रकम जम्मा गरी चिट्ठाको रकम प्राप्त गर्न सकिने जानकारी नेपालीलाई गराएका थिए ।

Advertisement

Advertisement

Advertisement