प्रेमिका बनाएर व्यापारीलाई अपहरण, फिरौती अशुलीपछि प्रेमिकाको हत्या

Advertisement

काठमाडौंः मख्खनस्थित न्यू डालिज साडी र साडी संसार पसलका सञ्चालक श्यामसुन्दर अग्रवाललाई उनकै पसलमा काम गर्दै आएकी आफ्नी प्रेमिकालाई प्रयोग गरी ४० लाख रुपियाँ फिरौती रकम अशुली गरेको तथ्य खुलासा भएको छ । 

रकम अशुल गर्ने मुख्य योजनाकारले आफ्नै प्रेमिका राधिका श्रेष्ठलाई हतियार बनाएर व्यवसायी अग्रवालसँग रकम अशुल गरेको र पछि अपहरणको पोख खुल्ने डरले राधिकालाई हत्या गरेको प्रहरीको भनाई छ । 

Advertisement

अग्रवालको पसलमा काम गर्दै आएकी २५ बर्षीय राधिका कालिमाटीस्थित डेरामा बस्दै आएकी थिइन । उनी धादिङकी हुन । अपहरणको मुख्य योजनाकार प्रकाश लामिछाने फरार भए पनि अन्य दुई किशोर गिरी र सरोज घोरासैनीलाई भने प्रहरीले पक्राउ परेको छ । 

राधिकासहित उनीहरुले व्यवसायी अग्रवाललाई गत फागुन ५ गते सुन्धारास्थित सनराइज गेष्ट हाउसमा बोलाई सोही होटलको ४०४ नम्बर कोठामा बन्धक बनाएर फिरौती रकम अशुल गरेका थिए । प्रहरीले अग्रवाललाई सकुशल उद्दार गर्नुका साथै अपहरणमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको हो । 

अग्रवालको अपहरणमा संलग्न फरार अपराधीहरुको खोजतलास तथा अनुसन्धान गर्दै जाँदा गते फागुन २० गते राधिका भक्तपुरको बागेश्वरीस्थित मुहानपोखरीमा हातगोडा बाँधी मुखमा टेप लगाई माटोको खाल्टोमा सडेको अवस्थामा मृत फेला परेकी हुन । 

विगत दुई बर्षदेखि प्रेम गर्दै आएका प्रकाश र राधिकाले आफूहरुको आर्थिक अवस्था सुधार गर्नको लागि भन्दै अग्रवालको योजना बनाएका थिए । अग्रवालको अपहरण गर्ने योजनाअनुसार गत फागुन ४ गते चारैजना अपहरणकारी गणबहालस्थित भारत होटल होलिल्याण्डको ५०१ नम्बर कोठा लिइ बसेका थिए ।

फागुन ५ गते बिहान ११ बजे उक्त होटल छोरी राधिकाले अपहरणको योजनाअनुसार सनसाइन होटलको दुई वटा कोठा ४०३ र ४०४ भाडामा लिइन । सोही कोठामा उनीहरु अपहरणको लागि तयारी अवस्थामा बसे । 

त्यसपछि राधिकाले अग्रवाललाई अर्जेन्ट काम छ भन्दै सुन्धारामा भेट गर्न बोलाइन । अग्रवाललाई ४०४ नम्बर कोठामा लगियो र करिव दिउसो २ बजे अग्रवाल र राधिका रक्सी सेवन गर्न थाले । केही बेरमा अपरणको लागि तयारी अवस्थामा ४०३ नम्बर कोठामा बसेका प्रकाश, सरोज र किशोर आई अग्रवाललाई कुटपिट गरी हातखुट्टा बाँधी मुखमा कार्टुन टेप लगाई अपहरण गरेको र अग्रवालसँग १० लाख ७० हजार फिरौती लिई उनलाई त्यही कोठामा बन्धक बनाई आफूहरु फरार भएको प्रहरीको भनाई छ । 

त्यसपछि अपहरणकारीहरुले वसन्तपुरमा फिरौती रकम बाँडफाँड गरे । जसमध्ये सरोजले दुई लाख, किशोरले दुई लाख र बाँकी प्रकाश र राधिकाले राखे । सोही दिन बेलुका ट्याक्सी लिएर उनीहरु दुई जना प्रकाशको बागेश्वरीस्थित प्रकाशको घरमा गए भने सरोज र किशोर अर्को ट्याक्सी लिएर प्रकाशकै घर पुगे । 

किशोरको भनाईअनुसार प्रकाशले व्यापारी अग्रवालको अपहरणपछि आफूहरुको पोल खुल्ने डरले प्रेमिका राधिकाको हत्या गर्ने योजना बनाएका हुन । सोही योजनाअनुसार अपहरणमा प्रयोग गर्न खरिद गरिएको डोरी र कार्टुन टेपको सहायताले मुखमा टेप लगाई खुट्टामा डोरी बाँधी, धाँटी थिची राधिकाको हत्या भएको प्रहरीको छानविनबाट देखिएको छ ।

हत्यापछि मृतक राधिकालाई प्लाष्टिकको बोरामा प्याक गरेर मोटरसाइकलमा राखी घरबाट अन्दाजी दुईसय मिटर तल मुहानपोखरी भन्ने स्थानमा खाल्टोमा पुरी प्रकाश फरार भएका थिए ।

Advertisement

Advertisement