एयरटेल सहकारीको प्रबन्ध निर्देशक अशोक गोयल ८ कारेड हिनामिना गरेको आरोपमा पक्राउ

Advertisement

काठमाडौं । एयरटेल सहकारी संस्थाका प्रबन्ध निर्देशक अशोक गोयल पक्राउ परेका छन् । बचतकर्ताको आठ करोडभन्दा बढी रकम हिनामिना गरेको भन्दै प्रहरीमा परेको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

बुधबार पक्राउ गरिएको गोयल विरुद्ध ठगी मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ । गोयलकी श्रीमती सुमन केडियासहित अन्य पाँचजना भने फरार रहेको प्रहरीले जनाएको छ । सहकारी काठमाडौंको धर्मपथमा सञ्चालनमा रहेको छ । अध्यक्ष केडिया प्रबन्ध निर्देशक गोयलकी श्रीमती हुन् ।

प्रहरीमा परेको किटानी जाहेरीको आधारमा गोयललाई पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।
उनका अनुसार, एयरटेल सहकारीमा ठगिएको भन्दै पीडितहरुले सहकारी डिभिजन कार्यालयमा पनि निवेदन दिएका थिए ।

उजुरी दिनेको संख्या ३० पुगेको छ, जसमा अधिकांश मारवाडी समुदायका व्यवसायी छन् । अशोक वंशल, सीमा वंशल, सारिका जैन लगायत ३० जना उजुरीकर्ताको बिगो दाबी ५० करोड पुग्ने अनुसन्धानमा संलग्न प्रहरी स्रोतको अनुमान छ ।
संचालकहरुले सहकारीमा जम्मा भएको रकम हिनामिना गरेर अचल सम्पत्ति किनेको आरोप पीडित पक्षको छ ।

सहकारीका कर्मचारीहरु पनि तलब नपाएको भन्दै प्रहरीमा उजुरी दिने तयारीमा छन् । अनलाइनखबरको सम्पर्कमा आएका एक कर्मचारीले त्यसको पुष्टि गरेका छन् ।

Advertisement

Advertisement

Advertisement