सेनाले सक्यो मैलुङ–स्याफूबेसी सडक निर्माण, रणनीतिक महत्वको रसुवागढी नाका अब छिटो र सहज

Advertisement

रसुवाः विशेषगरी चीनसँगको आर्थिक सम्वन्ध विस्तारमा रणनीतिक महत्व राख्ने व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफूबेसी सडक औपचारिक सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यस सडक खण्डको रक्षामन्त्री इश्वर पोखरेलले आइतबार उदघाटन गरे । राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकखण्डको मैलुङ–स्याफूबेसी सडक उदघाटन गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहभागी थिए ।

नेपाली सेनाले निर्माण गरेको उक्त सडकको निर्माण कार्यदलका प्रमुख एां प्राविधिक सेनानी सञ्जय केसीका अनुसार उद्घाटनसँग गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनालाई आजै हस्तान्तरण गरिनेछ ।

विसं २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । सुरुमा सिङ्गल लेनको सात किलोमिटर सडक निर्माणको जिम्मेवारी पाएको सेनाको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो।

सेनाले तोकिएको समयमा नै सडक निर्माण सम्पन्न गरेको यस सडक खण्ड बर्खाको चार महिना दुई वर्षसम्म सवारी साधन सञ्चालन नगर्न अनुरोध पनि गरेको छ ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेकोमा बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती नरहेको जनाइएको छ । काठमाडौंदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्र १६ किमी दूरी रहेको छ।

काठमाडौंबाट बेत्रावती धुन्चे रसुवगढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुनेछ।

मैलुङ–स्याफ्रुबेसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ । १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement