काठमाडौं । प्रहरीले नक्कली सरकारी कागजाज तथा शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ । उक्त गिरोहले नक्कली कागजाज बनाई ठूलो रकम अशुल गरेको सुचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । विभिन्न स्थानका फोटो स्टुडियोबाट उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी प्रधान कार्यालयको लेटर प्याडमा तयार भएको प्रहरी रिपोर्ट, प्लस टू को शैक्षिक प्रमाणपत्र, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचानेकको स्पेशस टाक्स फोर्स, सुरक्षा तालिम, हातहतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाणपत्र, विभिन्न विद्यालयको जिल्लास्तरीय परीक्षाको प्रमाणपत्र, नेपाली सेनाले प्रदान गरेको ‘जो जससँग सम्वन्धित छ’को पत्र विभिन्न महानगरीय प्रहरी वृत्तको लेटर प्याड, जिल्ला प्रशासन कार्यालयबाट जारी अँग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्र, काठमाडौं महानगरपालिकाको सही छाप भएको लेटरप्याड, वडा कार्यालयको सिफारिस पत्र, पार्टी कार्यालयका लेटर प्याड, मेडिकल रिपोर्ट। स्थायी लेखा नम्बर आदि बरामद गरिएका छन् ।
पक्राउ पर्नेमा ओखलढुँगा रानीवन–७ स्थायी घर भई गंगबुमा श्रेष्ठ फोटो स्टुडियो सञ्चालन गर्ने सविनकुमार तोलाङ्गी, चितवन रत्ननगर–१६ पिठुवा स्थायी घर भई सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गर्ने अमृत सुर्खेती, धादिङ निलकण्ठ–९ स्थायी घर भई महाराजगञ्जमा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गर्ने मधुसुदन दवाडी छन् ।
यस्तो अपराधमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखतसम्वन्धी कसूरअन्तर्गत दफा २७६ विपरित कसूर गरेको भन्दै सात बर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ । यो कारवाही अभियान जारी रहेकोले काम गर्नेलाई मात्रै नभई गराउनेलाई पनि कारवाही हुने भन्दै सीआईबीले गराउनेहरुको खोजी भइरहेको जनाएको छ ।