काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जना बिरुद्ध मुद्दा दर्ता भएको भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरी सोही बास्तविक कभरपेजमा स्टिज लगाउने गरेको भन्ने उजुरी उपर अनुसन्धान गरी दोषी पाइएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार अधिकारीले जनाएका छन् ।
आयोगका अनुसार त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिकाहरु तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज दाहाललाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुन माग दाबी गरिएको छ ।
यसैगरी उत्तरपुस्तिकाहरु साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरी लाभ दिनेदिलाउने कार्यमा मतियार भई निजले भष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरमा भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज तेजनारायण चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्नेलाई सरह सजाय हुन माग दाबी लिइएको छ ।
साथै उत्तरपुस्तिकाहरु साटफेर गरी/गराई परीक्षाको परिणाममा फेरबदल गर्ने कार्यमा मतियार भई निजहरु जानुका आलेमगर र हिरा कटुवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरको मतियार भई परीक्षाको परिणाम फेरबदल गर्न लगाई लाभ प्राप्त गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निजहरु आलेमगर र कटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्ने सरह सजाय हुन माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए ।