पत्रकारहरुको पेशागत सुरक्षाको पूर्ण ग्यारेन्टी गरिनेछः सञ्चारमन्त्री काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकारलाई पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गरिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घले सोमबार मन्त्री राई र प्रधानमन्त्रीका सल्लाहकार प्रमोद दाहालको स्वागतमा आयोजना गरेको कार्यक्रममा राईले महासंघलगायत अनुभवीहरुसँग सल्लाह गरेर नीति नियमको निर्माण र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गरिने बताए ।
पत्रकारको पेशागत हकहित र सुरक्षामा गम्भीर समस्या छन् भन्दै उनले भने, ‘म हतार नगरी गर्न छलफल गरेर कस्तो ऐन नियम चाहिन्छ, कसरी त्यसको कार्यान्वयन गर्ने भन्ने कुरा अघि बढाउँछु । म कसैलाई आग्रह वा पूर्वाग्रह राख्ने मानसिकतामा छैन । पत्रकारको पेशागत सुरक्षको ज्ञारेन्टी र पूर्ण प्रेस स्वतन्त्रताका लागि काम गर्छु ।
वर्तमान सरकार साह्रै बलियो जगमा रहेकोले यो सरकार धेरै टिक्दैन भन्ने हल्ला निराधार हो भन्दै मन्त्री राईले राष्ट्रिय आवश्यकता, सामाजिक सदभाव, सार्वभौमिकता, अखण्डतामा बनेको वर्तमान सरकारलाई प्रमुख प्रतिपक्षी काँग्रेससहित सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले संविधान कार्यान्वयन अघि बढेको बताउँदै यही संविधानमा आधारित भएर बनेको वर्तमान सरकारको जगलाई सहयोग गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीबाट काँग्रेस पन्छिन नमिल्ने बताए ।
मन्त्री राईले जनताको नाममा दल खोल्ने र जनताको लागि राजनीति गर्छु भन्नेले जनतालाई दुःख दिने ? भन्दै तराईमा आन्दोलनरत दलले सीमा नाकामा बसेर होइन देशको मूल जगमा बसेर जनतालाई पीडा नदिई समस्या समाधानमा लाग्नुपर्छ भने । ‘यसका लागि बाटो खुला छ, आमनेसामने बसेर समस्या समाधान गरौं ।’
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार क्षेत्रका समस्या समाधान गर्न सरकारको सहयोगको माग गरेका थिए । उनले पत्रकारहरुको पेशागत हक हित र भौतिक सुरक्षामा धेरै चुनौति रहेको भन्दै त्यसको समाधान गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, मुलुकमा विद्यमान समस्या राजनीतिक र कुटनीतिकमाध्यमबाट समाधान गर्न आग्रह गरेका थिए ।