अब डिशहोम तथा सिमटिभीका ग्राहकहरुलाई सस्तोमै फाइबर नेट, मोवाइलबाटै टिभी पनि हेर्न सकिने

Advertisement

काठमाडौं । आक्रामक बजार विस्तारमा रहेको टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले आफ्ना पूराना ग्राहकका साथै नयाँ बन्ने ग्राहकलाई लक्षित गरी विशेष आकर्षक योजना ल्याएको छ । 

कम्पनीले डिशहोमका १५ लाख र सिमटिभीका तीन लाख ग्राहकलाई लक्षित गरी ‘विथ डिशहोम फाइबर नेट’ भन्दै कम्बो प्याकेज ल्याएको छ । यस योजनामा डिशहोम र सिम टिभीका ग्राहकले बार्षिक भुक्तानी गर्दा मासिक जम्मा ८३५ रुपियाँमा २५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन् । सोही सेवा मासिक भुक्तानी गर्दा एक हजार एक सय रुपियाँ तिर्नुपर्ने हुन्छ । 

Advertisement

साथै, कम्बो प्याकेजमा ४० एमबीपीएस इन्टरनेट मासिक एक हजार ४५० रुपियाँमा प्रयोग गर्न सकिने डिशहोमका महाप्रवन्धक रमेश सापकोटाले जानकारी दिए । डिशहोम र सिमटिभीका ग्राहकबाहेक नयाँ बन्ने ग्राहकलाई पनि सोही मूल्यमा आफूहरुले सेवा दिने योजना ल्याएको उनले बताए । डिशहोमले केही समयअघि मात्रै इन्टरनेट सेवा सुरु गरेको हो । 

महाप्रवन्धक सापकोटाले भने, ‘विगत १० बर्षदेखिका डिशहोमका १५ लाख सक्रिय ग्राहक र डिजिटल टेलिभिजन सेवा सिमटिभीका तीन लाख ग्राहकलाई विशेष छुटमा सेवा दिने योजनाअनुसार हामीले कम्बो प्याकेज भनेर फाइबर नेट सेवा दिन लागेका हौं । कम्पनीले पहिलो चरणमा काठमाडौंका खास खास स्थानमा यो सेवा दिइरहेको छ । 

छ महिनाभित्र काठमाडौंभित्रका सबै ग्राहकमाझ यो सेवा पुर्याउने योजना बनाइएको छ । काठमाडौं बाहिर पनि तीन महिनाभित्र खास खास शहरमा र एक बर्षभित्र नेपालभरी फाइबर नेट सेवा विस्तारको योजना बनाएको डिशहोमले आफ्नो गुणस्तरीय सेवालाई अझै परिस्कृति गर्दै मुलुकभर तीब्ररुपमा विस्तार गर्ने बताएको छ ।  

त्यस्तै, कम्पनीले मोवाइलबाटै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप सञ्चालनमा ल्याएको छ । ‘डिशहोम गो’ योजनाअन्तर्गत ओटीटी प्रविधिमार्फत हरेक स्मार्टफोन प्रयोगकर्ताहरुले हेर्न मिल्नेगरी डिशहोमका सबै सक्रिय ग्राहकलाई सेवा दिइरहेको सापकोटाले बताएका छन् । 

उनका अनुसार डिशहोम डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै अब प्रिमियम च्यानलहरुसहितका टेलिभिजन हेर्न मिल्नेछ । कम्पनीले यस अघि मासिक पाँच सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्ने ग्राहकलाई आफ्नो एप ‘डिशहोम गो’ अर्थात ‘डीएचगो’ मा निःशुल्क टेलिभिजन हेर्न मिल्ने बनाएको थियो । अब भने यो सेवा कम्पनीका सम्पूर्ण ग्राहकलाई उपलब्ध हुने भएको हो ।

सापकोटाले अब मोवाइलबाट डिशहोमका सबै च्यानलहरु हेर्न मिल्ने बताए । उनले भने, ‘यसअघि यो सेवा हामीले प्रिमियम सेवा लिने ग्राहकलाई मात्र उपलब्ध गराउँदै आएका थियौं, अब भने यो एप सबै प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न पाउने छन् ।’ यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुनसुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने छन् । 
विशेष गरी डिशहोम प्रयोगकर्ताको सहजताका लागि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । डिशहोमका ग्राहकबाहेक अन्यले भने यो सेवा प्रयोग गर्न पाउने छैनन् । साथै, महाप्रवन्धक सापकोटाले डिश टिभी, डिश फाइबरनेट, सिम टिभीको सेवा एउटै छाताबाट प्रदान प्रदान गर्न लागेको बताएका छन् । उनले देशका मुख्य शहरहरुमा डिजिटल सिम टिभी पुगेको बताउँदै स्थानीय केबल अपरेटरहरुमार्फत सबै शहरहरुमा पुर्याउने बताए ।   


 

Advertisement

Advertisement