लकडाउन र निषेधाज्ञा अवधिको शुल्क नबुझाउने विद्यार्थीहरुलाई डीएभी स्कुलले निकाल्दिने

Advertisement

ललितपुर । धोबीघाटस्थित डीएभी स्कूलले लकडाउन र निषेधाज्ञा अवधिको शुल्क नबुझाउने विद्यार्थीहरुलाई निकाल्ने निर्णय गरेको छ । स्कुलले अभिभावकहरुलाई म्यासेज पठाउँदै शुल्क नतिर्ने विद्यार्थीहरु निकाल्ने जानकारी गराएको हो । 

केडिया समूहको लगानी रहेको उक्त विद्यालयले सरकारको निर्देशनविपरित शुल्क बुझाउन आउन अभिभावकहरुलाई दबाब दिँदै आएकोमा अहिले म्यासेज पठाउँदै शुल्क नबुझाए विद्यार्थीहरुलाई निष्काशन गर्नेसम्मको खबर पठाउन थालेको हो । 

Advertisement

विद्यालयको धम्कीपछि अभिभावकहरु मानसिक तनाबमा परेका छन् । एक अभिभावकले पढाउँदै नपढाएको शुल्क कसरी बुझाउने ? त्यसमाथि सरकारले समेत शुल्क नउठाउन निर्देशन दिएको अवस्थामा डीएभी स्कुलले यस्तो म्यासेज पठाएपछि आफूहरु अन्योलमा परेको बताएका छन् । 

सरकारले असारदेखि मात्रै अनलाइन कक्षा सञ्चालन गर्न अनुमति दिए पनि शुल्क उक्त अवधिको शुल्क उठाउन पाउने कुरा गरेको छैन् । शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ मा स्थानीय तहले तोकेअनुसार मात्रै अनलाइन कक्षाको शुल्क लिन पाउने भनिए पनि कहिलेबाट त्यो शुल्क लिन पाउने हो ? खुलाइएको छैन् । यसअघि शिक्षमन्त्री गिरिराजमणि पोखरेल र मन्त्रालयका अन्य अधिकारीले अनलाइन कक्षाका नाममा कुनै पनि शुल्न नउठाउन निजी विद्यालयहरुलाई चेतावनी दिँदै आएका थिए । 

तर, विद्यालयहरुले भने शुल्क नउठाए शिक्षक र कर्मचारीलाई कसरी तलब खुलाउने ? भन्दै नपढाएपनि शुल्क लिन पाउनुपर्ने अडान राख्दै आएका थिए । डीएभी स्कूलले भने आफू खुशी गत वर्षभन्दा १० प्रतिशत शुल्क बढाएर अभिभावकहरू शुल्क तिर्न दबाब दिएको छ । 

उसले साउनसम्मको मासिक शुल्क र भर्ना शुल्क नबुझाए विद्यार्थीलाई अर्धवार्षिक परीक्षामा बस्न नदिने स्पष्ट पारेको छ । शिक्षा मन्त्रालयले ठोस नीति नबनाउने र स्थानीय तहलाई जिम्मेवारी सुम्पिएर चोखिने प्रयास गर्दा निजी विद्यालयहरुको मनोमानी सुरु भएको छ । 

Advertisement

Advertisement