काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को सह–प्रायोजकमा डिश मिडिया नेटवर्क जोडिएको छ । ‘पल्सर स्पोर्टस् अवार्ड’ यही पुस २८ गते हुँदैछ । उक्त प्रतियोगिताको १७औं संस्करणमा डिशहोम सह–आयोजक बनेको हो । स्पोर्टस् अवार्ड कार्यक्रमका लागि डिशहोमले मञ्चलाई नगद तथा जिन्सी गरी ११ लाख रुपियाँ बराबरको सह–प्रायोजन गर्नेछ ।
सोसम्वन्धमा बुधबार सम्झौता भएको हो । सम्झौतापत्रमा मञ्चका सहसचिव प्रज्वल वली र डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरे । डिशहोमले विजेताहरुलाई १३ थान डिशहोम कनेक्सन (दुई वर्षको रिचार्जसहित), २० मनोनितलाई २० थान डिशहोम कनेक्सन (एक वर्षको रिचार्जसहित) र १३ थान सेटटप बक्स (दुई वर्षको रिचार्जसहित) उपलब्ध गराउनेछ ।
यो सम्झौता एक वर्षसम्मको हुनेछ ।अवार्डका लागि पिपल्स च्वाईस अवार्डको मनोनयन पनि सार्वजनिक भइसकेको छ । यसपल्ट उक्त विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।