काठमाडौँ । नेपालमा सञ्चालित तारे होटलहरूले अनिवार्य नेपाली रैथाने खाना उपलब्ध गराउनुपर्ने भएको छ । राजपत्रमा हालै प्रकाशित‘एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलहरूको वर्गीकरण मापदण्ड’ले सबै किसिमका तारे होटलले मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिकार उपलब्ध हुने व्यवस्था गरेको हो ।
त्यस्तै एकतारेदेखि पाँचतारे सबै होटलले नेपालमा उत्पादित खाद्यवस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
मापदण्डअनुसार चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटलका हकमा दिउँसो र बेलुकाको खानासँगै कुनै नेपाली रैथाने खाना परिकार पूरक (कम्प्लिमेन्टरी) उपलब्ध गराउनु पर्नेछ । तीनतारेभन्दा माथिल्लो स्तर होटलमा नेपाली स्वादसहित कम्तीमा प्रचलित तीन प्रकारका कफी र पाँच प्रकारका चिया उपलब्ध भएको व्यवस्था हुनुपर्नेछ ।
गोरखापत्र दैनिकबाट ।