काठमाडौं । सरकारले नेपाल आउने विदेशी पर्यटकको लागि हवाई जहाजबाट मात्रै आउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सरकारले नेपालीबाहेक अन्य विदेशी नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने व्यवस्था गरेको हो ।
सरकारले आइतबार जारी गरेको ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थासम्बन्धी आदेश २०७८’ ले विदेशी नागरिक आउँदा अनिवार्यरुपमा जहाज प्रयोग गर्नुपर्ने र स्थलबार्टबाट आउन नपाइने व्यवस्था गरेको छ ।
स्थलमार्गबाट नेपाल प्रवेश गर्न नेपालीलाई मात्रै नाका प्रयोग गर्न दिइने छ । यो व्यवस्थाले चिनियाँ वा भारत हुँदै नेपालमा विदेशी आउन पाउने छैनन् । यसअघि भने स्थलमार्गबाट आउने विदेशीको हिस्सा पनि उल्लेख्य हुने गरेको थियो । सन् २०१९ सम्ममा नेपालमा आउने विदेशीमध्ये दुई लाख एक हजार स्थलमार्गबाटै नेपाल आएका थिए । उक्त वर्ष हवाई मार्गबाट आउने पर्यटक भने नौ लाख ९५ हजार थिए ।
सन् २०२० मादेखि भने कोरोना महामारीका कारण हवाई मार्गबाट आउने पर्यटकसम्म ८० प्रतिशतले घटेको हुँदा त्यो वर्ष स्थलमार्गबाट आउनेको हिस्सा न्यून रहेको थियो । भारतीय तथा धार्मिक पर्यटक भने स्थलमार्गबाट १० देखि १५ लाख आउने गरेको भएपनि पछिल्ला दुई वर्षदेखि भने आगमनमा कडाई गरेको हुँदा भारतीयको आगमन पनि न्यून भएको नेपाल पर्यटन बोर्डको भनाइ छ ।
सरकारले स्थलमार्गबाट आउनै नपाउने अर्थात भारत आइपुगेको र चीनबाट विदेशी पर्यटकले सडक यातायातको प्रयोग गरेर सीमा नाकाबाट प्रवेश पाउने छैनन् । आकास मार्ग प्रयोग गर्दा सुरक्षा संवेदनशीलता बढ्ने, अनिवार्य पीसीआर रिपोर्ट हुने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना हुने र जोखिम पनि कम गर्ने गरी सुरक्षाका उपाय अपनाइने भएकोले पनि स्थलमार्गबाट आउन रोक लगाइएको र हवाई मार्गलाई मात्रै अनिवार्य गरिएको पर्यटन मन्त्रालयले उल्लेख गरेको छ ।
स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि भने विभिन्न १३ वटा नाका प्रयोग गर्न दिइने उल्लेख छ । यस्तो नाकामा पशुपतिनगर (इलाम), काकडभित्ता (झापा) रानी (मोरङ) भिट्टामोड (महोत्तरी) गौर (रौतहट), वीरगन्ज (पर्सा), वेलहिया (रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके) गौरीफन्टा (कैलाली) पुलघाट (दार्चुला), झुलाघाट (बैतडी) र गड्डाचौकी (कञ्चनपुर)को मात्रै प्रयोग गर्न पाइने भएको छ ।
खोपको मात्रा पूरा गरेकाले होटल क्वारेन्टिन बस्नु नपर्ने
कोभिड–१९ को खोपको मात्रा पूरा गरेका पर्यटकले भने होटल क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था सरकारले गरेको छ । यस अघि विदेशबाट आउने यात्रुले स्वास्थ्य सुरक्षा सम्बन्धी आदेश २०७७ अनुसार अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था लाई खारेज गरेर सरकारले नयाँ आदेश जारी गरेकोले हो ।
यस्तो आदेश अनुसार खोपको मात्रा पूरा गरेर खोप प्रमाणपत्र लिएका पर्यटकलाई १० दिनको सेल्फ क्वारेन्टिनमा बसे पुग्ने व्यवस्था भएको छ । कोभिडको नेगेटिभ रिपोर्ट भएका यस्ता भ्याक्सिन टुरिष्टले सम्बन्धित गन्तव्यस्थलमा सीधै जान पाउने र सोही स्थानमा सेल्फ क्वारेन्टिन बसे पुग्ने व्यवस्था मिलाएको छ ।