काठमाडौं । बीमा समितिले उधारो बीमा रोक्न पटक पटक निर्देशन दिए पनि कम्पनीहरूले अटेर गर्दै आएको देखिएको छ । कम्पनीहरूले अटेर गरेको भन्दै समिति आक्रामक रूपमा प्रस्तुत भएको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘उधारो बीमा गर्नु एकदमै गलत हो । हामीले कम्पनीलाई उधारो बीमा रोक्न पटक पटक निर्देशन दिएका छौं । बीमा कम्पनीले हाम्रो निर्देशन अटेर गरेको गुनासो पनि आइपुगेको छ । त्यसैले हामीले तत्काल उधारो बीमा रोक्नु भनेर फेरि पनि निर्देशन दिन बाध्य भएका हौं ।’
उधारो बीमा कुनै पनि कम्पनीले गरेको सूचना फेला परेमा तत्काल कारबाही गरिने उनको भनाई छ । मंगलबार समितिले ‘उधारो बीमा रोक्नु’ भन्दै पुनः कम्पनीहरूलाई पत्र काटेको छ । एउटै विषयमा बीमा समितिले कम्पनीहरूलाई पत्र काटेको यो तेस्रो पटक हो ।
निर्जीवन बीमा कम्पनीका सीईओसँग समितिको छलफल
बीमा समितिले उधारो बीमा तत्काल रोक्नेबारे एक साताअघि निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गरेको थियो । छलफलमा सीईओहरूले उधारो बीमा रोक्न सबै लाग्नुपर्ने तर्क गरेका थिए । तर पटक पटक निर्देशन दिँदा पनि उधारो बीमा लुकिछिपी हुने गरेको समितिले फेला पारेको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक साता अघिको उक्त छलफलमा उधारो बीमा अब कसैले गरेको फेला परे कारबाही गर्ने चेतावनी दिएका थिए ।
छलफलमा सहभागी एक सीईओले भने, ‘अब कुनै पनि कम्पनीले उधारो बीमा गरेको थाहा पाएमा बीमा समितिले कारबाही गर्ने भनेको छ । अब यसले निकै हदसम्म सकारात्मक नतिजा ल्याउने हाम्रो पनि अपेक्षा छ ।’
यस्तो छ बीमा समितिले काटेको पत्रको व्यहोराः
बीमा ऐन २०४९ को दफा २७ को प्रतिकूल हुने गरी उधारोमा बीमालेख जारी नगर्न पटक पटक ध्यानाकर्षण गराएको समितिको पत्रमा उल्लेख छ । अझै पनि केही बिमकहरूबाट ऐनको प्रावधान विपरीत उधारो तथा बैंक ग्यारेण्टीमा बीमा भइरहेको गुनासो प्राप्त भएको भन्दै समितिले यस्तो कानुन विपरीत कार्य दण्डनीय हुने हुँदा यसतर्फ सचेत हुनु चेतावनी दिएको छ ।
त्यस्तै, बीमा नियमावली, २०४९ को नियम १८ (३) बमोजिम समितिबाट तोकिएको बीमा दरभन्दा घटी दरमा बीमालेख जारी गर्न नहुने व्यवस्थाको सबै कम्पनीले अनिवार्य पालन गर्नुपर्ने कुरा पनि पत्रमा औंल्याइएको छ । उक्त नियम विपरीत कार्य हुँदा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको बीमकहरूबाटै गुनासो प्राप्त भएको समितिको भनाई छ ।
आगामी दिनमा त्यस्ता कानुन विपरीत उधारो बीमा गरेको पाइएमा बीमा नियममावली , २०४९ को निमय १८ (३) बमोजिम कारबाही गरिने पत्रमा लेखिएको छ । यस विषयमा बीमा कम्पनीहरू गम्भीर हुनुपर्ने समितिको भनाई पनि छ ।