काठमाडौं । लेखा व्यवसायीको नियामक नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) काउन्सिलको नवौं परिषद् निर्वाचन कोरोनाको कारण देखाउँदै फेरि स्थगित गर्ने तयारी गरिएको छ ।
यही भदौ १८ गते हुन लागेको निर्वाचन सञ्चालन गर्न अनुमति माग्दा काठमाडौं जिल्ला प्रशासनले आफूले स्वीकृति दिन नसक्ने भन्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रण केन्द्र (सीसीएमसी)सँग कुरा गर्न जवाफ दिएपछि आईक्यानका पदाधिकारी, निर्वाचन अधिकृत, उम्मेदवार र मतदाताहरू अन्योलमा परेका छन् ।
काठमाडौं उपत्यकाबाहेक बाहिरका जिल्लाका मतदाताले हुलाकमार्फत नै मतदान गर्ने भएकाले उनीहरूले मतदान गरि पठाइसकेका छन् । काठमाडौं उपत्यकाका मतदाताले भौतिक उपस्थितिमा कार्की ब्याङ्केटमा मतदान गर्ने कार्यक्रम छ ।
आईक्यानका अध्यक्ष सीए मदन शर्माले के गर्ने विषयमा निर्वाचन समितिसँग छलफल गरेर टुँगो लगाइने बताए । निर्वाचन प्रक्रिया अघि बढिसकेकोले के गर्ने भन्ने कुरा निर्वाचन समितिले नै निर्णय गर्ने कुरा हो भन्दै उनले सकेसम्म चाँडै छलफल गरेर टुँगो गरिने बताए ।
निर्वाचन अधिकृत महेश्वर काफ्लेले १५ सयभन्दा बढि मानिस जम्मा हुने कार्यक्रम रहेछ हामी कार्यक्रम गर्न स्वीकृति दिन सक्दौनौ, सीसीएमसीमा कुरा गर्नु भनेकाले र सीसीएमसीबाट पनि सवीकृति प्राप्त नभएकाले आफूहरू प्रतिक्षामा रहेको बताए ।
उनले आईक्यान, परिषद र निर्वाचन समिति भएर के गर्ने ? भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको बताए । काफ्लेले निर्वाचन स्थगित भइहाल्न भन्ने अवस्था नरहेको बताए । स्थानीय प्रशासनको पनि आदेश मान्नुपर्ने, स्वास्थ्य संवेदनशीलतालाई पनि मनन गर्नुपर्ने र निर्वाचन पनि गर्नुपर्ने अवस्था रहेको भन्दै काफलेले उपयुक्त निर्णय चाँडै गर्ने बताए ।
नियमअनुसार आईक्यान काउन्सिलको नवौं परिषद्को निर्वाचन गएको जेठ २६ मा निर्वाचन भई असार २० मा हस्तान्तरण भइसक्नुपर्नेमा कोरोनाका कारण अहिलेसम्म निर्वाचन हुन सकेको छैन् । कोरोनाका कारण भदौ १८ का लागि तोकिएको निर्वाचन पनि हुन नसके कानुनी जटिलता झन थपिने एक जना उम्मेदवारले गुनासो गरे ।
उनले काठमाडौं उपत्यका बाहिरको निर्वाचन भइसकेको अवस्थामा काठमाडौंमा एकै दिन नभएर दुई वा तीन दिन गरेर पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्दै निर्वाचन गर्न सकिने संभावना छ भन्दै त्यसका लागि हालका पदाधिकारी र निर्वाचन समितिले सरकारलाई विश्वासमा लिनसक्नुपर्ने बताए । अहिले नै पनि विभिन्न कार्यक्रमहरू हुन थालेको, सुपरमार्केटहरूमा हजारौं सपिङ गर्न जाने गरेको, आर्थिक पत्रकारहरूको संस्था सेजनले पनि आफ्नो चुनाव भदौ १८ मै गर्न लागेको उदाहरण दिँदै उनले आईक्यानको मात्रै चुनाव गर्न समस्या नहुने बताए ।
यस निर्वाचनमा चार्टर्ड एकाउन्टेन्ट (सीए)बाट १० र दर्तावाला लेखापरीक्षक (रजिष्टर्ड अडिटर–आरए)बाट चार जना पार्षद निर्वाचित हुन्छन् । आईक्यानमा बाँकी तीन जना सरकारले मनोनित गर्नेछ । सीएतर्फबाट उम्मेद्वारी दिने १६ जना छन् भने आरएबाट नौ जना छन् ।