काठमाडौंं । कोभिड १९ महामारी नियन्त्रणका लागि भन्दै अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग थप सहयोग मागेका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकका प्रतिनिधिसँगको भेटमा उनले थप सहयोग मागेका हुन् ।
भेटमा अर्थमन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ ।’
नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटिको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास दिलाए ।
भेटमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको आउँदो संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे ।
भेटमा बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे । उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिवद्धता जनाए ।
विश्व बैंकको प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको अर्थ मन्त्रालयले जनाएको छ ।