काठमाडौं । दिनभर व्यापार, व्यवसाय र जागिरमा थकित काठमाडौं उपत्यकावासीका लागि तनाव व्यवस्थापन गर्ने उपयुक्त गन्तव्यको रुपमा लोटस साइन एण्ड एम्नेटी सञ्चालनमा आउने भएको छ । स्वास्थ्यसम्वन्धी विभिन्न सुविधा सोना बाथ, स्टिम बाथ, ज्याकुजी, स्पा थेरापी, मसाज, फिटनेशका लागि जिम क्लब जस्ता सुविधा एकै ठाउँमा प्राप्त हुने लोटस गंगबु बसपार्कबाट ३५० मिटर भित्र मनमैजु पुलको छेउमा रहेको छ ।
कम्पनीका प्रवन्ध निर्देशक सञ्जिव शाह भन्छन्, ‘स्वास्थ्य र तनाव व्यवस्थापनसँग सम्वन्धित सेवाबाहेक रेष्टुरेन्ट, स्विमिङ पुल, स्विमिङ पुलमा पनि बेबी पुल, यडल्ट पुल, यरोबिक, जुम्बा, योगा, ध्यान जस्ता सेवाहरू प्राप्त गर्न सकिन्छ ताकी एउटा व्यक्ति वा परिवारका लागि हरेक कुरा यहाँ प्राप्त होस् । अन्त जानुनपरोस भन्ने हाम्रो चाहना हो ।’ जिम क्लबमा एकै पटक दुई सयले व्यायाम गर्न सक्छन् ।
तीन बर्षअघिदेखि निर्माण सुरु भएको लोटसको औपचारिक शुभारम्भ दशैंअघि नै गर्ने योजना भए पनि कोभिडका कारण केही पर धकेल्नुपरेको हो । उनी भन्छन्, ‘यो प्रोजेक्ट खासमा दुई बर्षमै सम्पन्न गर्ने हाम्रो लक्ष्य थियो । कोभिडले गर्दा समय खाइदियो । अब करिव दुई महिनामा सम्पन्न हुन्छ । पूर्णरुपमा खुल्ला गर्ने काम तिहारपछि हुन्छ ।’
यद्यपि लोटसले डेढ बर्षदेखि सोना स्टिम सञ्चालन गर्दै आएको छ । यो सोना फायरउड सोना हो । फायरउड अर्थात दाउरा बालेर गरिने सोना पूर्ण अर्गानिक भएको शाहको भनाई छ । सोना स्टिम सञ्चालन गर्ने जति पनि क्लबमा इलेक्ट्रिक (विद्युतीय) सोना देखिए पनि लोटसले दाउरा बालेर सेवा दिन्छ । ‘जस्तो ग्यासमा पकाएको खाने कुरामा भन्दा गाउँमा चुलोमा पकाएको खाना मिठो हुन्छ, त्यो पनि त्यस्तै हो’, उनी भन्छन् ।
निर्माणको चरणको भद्रगोल अवस्थामा पनि दैनिक २०–३० जना ग्राहक लोटसमा आउने गरेका छ्न । यसलाई शाह आफूहरूप्रतिको विश्वास, राम्रो र गुणस्तरीय सेवा भएको कारण बताउँछन् । उच्चस्तरको सेवा र गुणस्तरलाई नै ध्यान दिएर आफूहरूले पनि भौतिक संरचना निर्माण गरेको सुनाउँदै उनले सेवामा सुरक्षाको कुरालाई पनि विशेष ध्यान दिइएको बताए ।
लोटसका लक्षित ग्राहक भनेका कर्पोरेट क्षेत्रका हुन् । व्यवसायी, जागिरे जो दिनभरी काम गरेर थकित हुन्छन् र तनाव मन्थर गर्न चाहान्छन्, उनीहरूका लागि सबै सुविधा प्राप्त गर्न सकिने एउटै ठाउँ लोटस हुने शाहले बताए । उनी भन्छन्, ‘दिनभरी थकित हुनुभएका व्यवसायी, जागिरेलाई कहाँ जाने त ? भन्दा सबै सुविधा एकै ठाउँमा भएको लोटस नै होस भन्ने हाम्रो चाहना छ ।’
अहिलेको व्यस्त समय, त्यसमा परिवारलाई पनि समय दिनुपर्ने बाध्यता हुने भएकाले लोटसमा आउँदा व्यक्तिगतका साथै परिवारको चाहना समेत पूरा हुने उनको भनाई छ । शाहले लोटसमा बच्चादेखि वृद्धसम्मलाई आवश्यक सुविधा रहेकाले अन्त कतै जानु नपर्ने जिकिर गर्छन् । उनले भने, ‘मानिसको आवश्यकता र चाहनालाई दृष्टिगत गरेर सबै उमेर समूहका लागि सबै किसिमका सुविधासहितको पूर्वाधार तयार गरिएको हो ।’
लोटसमा सानातिना समारोह र भोज गर्नु परे त्यसका लागि पनि व्यवस्था गरिएको छ । यहाँ पाँच सय मानिसका लागि विवाह भोजदेखि कर्पोरेट क्षेत्रका लागि सेमिनार जस्ता कार्यक्रम गर्न सकिन्छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको लोटसमा सुरुमा पाँच करोड रुपियाँमा पूर्वाधार तयार गर्ने लक्ष्य लिइए पनि अहिले छ करोड रुपियाँभन्दा बढि लगानी भइसकेको शाहले बताए । यसमा जग्गाको लागत जोडिएको छैन् ।
आयात निर्यातदेखि घरजग्गा व्यवसायमा लाग्दै आएका तीन जना व्यवसायी मिलेर सुरु गरिएको लोटस बिहान ५ बजेबाट राति ९ बजेसम्म खुल्ला रहन्छ । प्याकेजमा सेवा लिने, दैनिक आउने, कहिले काहीं आउनेका लागि फरक फरक शुल्क कायम गरिने छ । लोटससँग अनुभवी स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीहरू रहने छन् । पूर्णरुपमा सञ्चालनमा आउँदा ३० देखि ४० जनाले रोजगारी पाउने उनले बताए । शाहले स्विमिङका लागि प्रशोधित खानेपानी नै प्रयोग हुने भएकाले कसैले पनि त्यसमा डराउनु नपर्ने बताए ।