अल्मुताइरी थप तीन बर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक बन्न तयार भए

Advertisement

काठमाडौं । साफ च्याम्पियनशिप २०२१ पछि पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन बर्ष सो पदमा रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार  फुटबल एशोसिएशनका पदाधिकारीहरुसँगको छलफलपछि उनी नेपाल फर्किन तयार भएका हुन् । 

अल्मुताइरीले थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने तय भएको छ। उनले सामाजिक सञ्जालमा यसको पुष्टि पनि गरेका छन् । अल्मुताइरीले सामाजिक सञ्जालमा  लेखेका छन्,’कर्माछिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । यसमा सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद ।’

Advertisement

नयाँ चुनौतीको लागि तयार रहेको जनाउँदै उनले भनेका छन्, ‘हामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौं । तपाईहरुलाई म वाचा गर्छु कि नेपाली फुटबलको भविष्य राम्रो हुनेछ । हामीलाई केही समय दिनुहोस् ।’

उनले आफूलाई देखाएको माया र समर्थन एकदमै महत्त्वपूर्ण रहेको बताउँदै नेपाली समर्थकको मुटुमा आफूलाई बस्न दिन आग्रह पनि गरेका छन् । 

अल्मुताइरीले भनेका छन्, ‘मलाई मात्रै नेपाली दर्शकको समर्थन र माया चाहिने होइन,’ अब्दुल्लाहले भनेका छन्, ‘नेपाली खेलाडीलाई पनि समर्थन चाहिएको छ । समर्थन गर्नुहोस्। हामीमा विश्वास गर्नुहोस्। माया गर्नुहोस्।’

Advertisement

Advertisement