काठमाडौं । सन् २०२० को नौ महिनामा २२ लाख ६१ हजार आन्तरिक हवाई यात्रुले सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण भएका आन्तरिक उडानका यस्तो यात्रुका लागि विभिन्न वायुसेवा कम्पनीबाट ५२ हजार एक सय उडान भएको छ । नियमित उडानका नौ आन्तरिक वायुसेवा कम्पनीले दिएका यस्तो यात्रु सेवामा ११ लाख ३४ हजार बाहिरिएका छन भने ११ लाख २६ हजार यात्रु भित्रिएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानमा भएको कुल उडानमा सबैभन्दा बढी यात्रु सेवा बुद्ध एयरले दिएको छ । यो वायुेवाले नौ महिनामा २२ हजार चार सय उडानमार्फत १२ लाख ४३ हजार यात्रुलाई सेवा दिएको छ । बुद्ध एयरपछि यात्रु सेवा दिनमो यति एयरलाइन्स छ । यो वायुसेवाले नौ हजार उडानमार्फत ५ लाख २५ हजार यात्रुलाई सेवा दिएको छ । यात्रु सेवाको तेस्रोको सूचीमा भने श्री एयरलाइन्स छ । यो वायुसेवाले पनि ५ हजार पाँच सय उडानमार्फत तीन लाख ६५ हजार यात्रुलाई सेवा दिएको छ ।
राष्ट्रय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भने आन्तरिक उडानमा दिएकोसेवा जम्मा १२ हजार ६ सय जनालाई मात्रै छ । यो वायुसेवासँग जहाज कम भएको र दुर्गम क्षेत्रका विमानस्थलमा सेवमूलक उडान गर्ने गरेको छ । आन्तरिक उडानमा विदेशी यात्रु नभएपनि नेपालीकै पहुँच बढेकोले महामारीपछिको छोटो समयमा नै आन्तरिक वायुसेवाका यात्रु सन्तोषजनक रूपमा बढेको देखिएको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए । उनका अनुसार यात्रुको बृद्धिदर राम्रो देखिएको छ भने विदेशी पर्यटक नहुँदा आन्तरिक वायुसेवामा नेपाली यात्रुको चाप बढ्नुलाई समग्र हवाइ उड्डयनका लागि सकारात्मक भएको पनि उनले बताए ।
कोरोना महामारीपछि यात्रु उडान सामान्य अवस्था आइपुगेको छ भने वायुसेवाको अवस्था पनि महामारी अगाडिको जस्तै हुन थालेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनका अनुसार महामारीले लामो समय थलिएका वायुसेवालाई पछिल्लो समय आन्तरिक यात्रुले नै उठाएका छन भने विदेशी यात्रु नहुँदा पनि वायुसेवाको व्यापार सामान्य अवस्थामा आइपुगेको छ ।
पछिलो समय आन्तरिक उडानमा ९५ प्रतिशत यात्रु नेपाली छन् । वायुसेवा कम्पनीले यात्रु मैत्री भाडादर बनाएको, सडक यात्रामा असहजता हुँदा हवाई यात्रा बढ्ने र अत्यावश्यक सेवा हुन पुगेको तथा पहुँच पनि बढेका कारण यात्रु बढ्दै गएको बुझाई उनको छ । आन्तरिक वायुेवासँगै हेलिकप्टर कम्पनीको पनि यात्रु उडान सकारात्मक हुँदै गएको छ । हेलिकप्टरमा विगत नौ महिनामा सबैभन्दा बढी यात्रु सेवा सिम्रिक एयरले दिएको छ । यो वायुसेवा एक्लैले चार हजार यात्रुलाई सेवा दिएको छ ।