काठमाडौं । पशुपतिनाथ मन्दिरबाट इण्डियाको काशी विश्वनाथसम्मको मोटरसाइकल र्याली सुरु भएको छ । ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ नाम दिइएको यस र्यालीमा ५० नेपाली र भारतीय मोटरसाइकलप्रेमी सहभागी छन् ।
पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा बिहीबार यसको शुभारम्भ गरेका थिए ।
नेपाल र भारतका जनताबीचको अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्यालीको उद्देश्य रहेको भारतीय दूतावासको भनाई छ । दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि यसको रहेको जनाइएको छ ।
कार्यक्रममा राजदूत क्वात्राले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले भूमिका खेलेको बताए ।
र्यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् ।
यात्राका क्रममा र्यालीमा सहभागीले महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ ।
भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस र्यालीको आयोजना गरेको हो ।