काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले मदिरा तथा सुर्तीजन्य विज्ञापनहरुमा रोक लगाएकोमा आपत्ति जनाएको छ । विज्ञापन बोर्डले प्रचलित कानुनअनुसार यस्ता विज्ञापन नगर्न निर्देशन जारी गरेसँगै आनको प्रतिक्रिया आएको हो ।
आनले शुक्रबार जारी गरेको विज्ञप्तिमा विज्ञापन उद्योग विस्तारै कोभिडपछि अगाडि बढदै गरेको अवस्थामा ऐनको हवाला दिएर देश काल परिस्थितिलाई आकलन नगरी र सरोकारवालासँग सहकार्य नगरी मदिरा तथा सुर्चीजन्य विज्ञापनमा रोक लगाउनु दुःखद भएको उल्लेख गरिएको छ ।
बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमा जनस्वास्थ्य ऐन र विज्ञापन नियमन ऐनअनुसार मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुनै पनि विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने भएकाले यस्ता विज्ञापन कुनै पनि माध्यममा प्रकाशन तथा प्रसारण नगर्न, गरेका विज्ञापन हटाउन, त्यसो नगरे कानुनी कारवाही गरिने बताएको थियो ।
बोर्डको उक्त भनाईपछि आनले आज भनेको छ, ‘एकातर्फ सरकारले राजश्वको दोव्वर गर्ने लक्ष्य राख्नु, अर्कातर्फ भइरहेको व्यापार व्यवसायमा असर गर्ने गरी विज्ञप्ती आउनु विरोधाभाष छ । भर्खरै कोभिडको मारबाट थलिएको व्यवसायीहरुलाई व्यवसाय गर्न वर्जित गर्ने गरि षडयन्त्रपूर्वक आएको विज्ञप्तीप्रति संघको घोर आपत्ति छ ।’
आन्तरिक तथा वाह्य पर्यटनसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रबाट राज्यले अर्बौ राजश्व लिइरहेको बताउँदै आनले तर यी कुरालाई नजरअन्दाज गर्दै विज्ञापनमा रोक लगाउनु विज्ञापन व्यवसायसँग सम्वन्धित समस्त सञ्चार उद्यमी, विज्ञापनदाता तथा विज्ञापन व्यवसायीमाथिको कुठाराघात भएको टिप्पणी गरेको छ ।
राज्यको ऐन, नियम, कानून देश, काल र परिस्थिति अनुकुल नभएमा स्वाभाविक रुपमा प्रयोग र उपयोग बिहीन भएर जाने आनको तर्क छ । विज्ञापन क्षेत्रमा भएको अर्बौं लगानी, सिर्जित रोजगारी, राजश्वमा योगदान तथा विज्ञापनको माध्यमद्धारा सम्पादकीय स्वतन्त्रता रक्षा गरी नागरिकलाई सुसुचित गराउने विषय बस्तुलाई विज्ञापन बोर्डको निर्णयले असर पर्ने उसको भनाई छ ।