काठमाडौं । पुरुष टी–२० विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया विजयी भएको छ । उसले न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै फाइनल खेल जित्न सफल भएको हो ।
दुबईमा आइतबार साँझ भएको रोमाञ्चक प्रतिस्पर्धामा न्यूजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रनको लक्ष्य दिएकोमा अस्ट्रेलियाले उक्त लक्ष्यलाई दुई विकेट गुमाउँदै १९ ओभरमा पूरा गरेको थियो ।
सुरुवाती समयमा अस्ट्रेलियाको राम्रो नभए पनि पछि उसले सुधार गर्न सफल भएको थियो । अस्ट्रेलियाली कप्तान आरोन फिन्चले पाँच रन बनाएर बाहिरिए पनि मिशेल मार्शले ओपनर डेभिड वार्नरसँग मिलेर दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।
जसमा वार्नरले ३८ बलमा ५३ रन बनाए भने मार्शले ५० बलमा ७७ रन बनाए । अस्ट्रेलियाका लागि सबैभन्दा धेरै तीन विकेट जश हेजलवुडले लिए । न्यूजिल्यान्डतर्फ कप्तान केन विलिम्सनले ४७ बलमा ८५ रन बनाए भने मार्टिन गुप्टिलले ३५ बलमा २८ रन बनाए ।
न्युजिल्याण्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । जबकी अष्ट्रेलिया पाँच पटकको एक दिवसीय क्रिकेट विजेता हो । तर न्युजिल्याण्डले राम्रो खेल्दाखेल्दै पनि अष्ट्रेलियालाई रोक्न भने सकेन् ।