अस्पताल परिसरमै निसास्सिएर तीन महिने बालकसहित चार जनाको मृत्यु

Advertisement

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका चार जनाको निसास्सिएर मृत्यु भएको छ । चिसोबाट बच्‍न क्वार्टरमा कोइला बालेर आगो तापेका उनीहरु बिहान उठ्दा चार जना मृत अवस्थामा र तीन जना बेहोस अवस्थामा भेटिएका हुन् । 

मृत्यु हुनेमा २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका सदस्य र नातेदार छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चिसोबाट बच्‍न भट्टराई परिवारले कोइला बालेर आगो तापेको र त्यसैको धुँवाले राति निसास्सियर चार जनाको मृत्यु भएको प्रारम्भिकरुपमा देखिएको हो । 

Advertisement

भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनको तीन महिनाको छोरा इप्सन, सासु ४३ वर्षीया कोकिला भटटराई, जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो ।बेहोस अवस्थामा रहेका धर्मप्रसादका भाई नरेन्द्र भट्टराई, तीन बर्षीय छोरा विवश र श्रीमती सुशीलाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीको भनाई छ । उनीहरु अझै अचेत रहेको जनाइएको छ । 

बुधबार भट्टराई बसेको क्वार्टरमा आफन्त पाउना हुन आएका थिए । जाडो भगाउन कोइराला बालेर आगो तापेका उनीहरु एउटै कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । तत्कालै अस्पताल पुर्याइएका उनीहरुमध्ये चार जनालाई मृत घोषणा गरिएको थियो भने बाँकीको उपचार भइरहेको छ । 

भट्टराई परिवारले टिनको बट्टामा आगो बालेर आगो बालेको तर झ्याल, ढोका बन्द गरेको पाइएको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement