स्पेनिस ला लिगाः रियल गेटाफेसँग स्तब्ध

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गेटाफेसँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा रियल गेटाफेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । यससँगै रियलको १५औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

रियललाई हराउन गेटाफेका इनेस युनालले निर्णायक गोल गरे । युनालले नवौं मिनेटमा गरेको गोल घरेलु टोलीको जितमा प्रयाप्त बन्यो । ७४ प्रतिशत बल पोसेसन राखेपनि रियलले गोल फर्काउन सकेन । खेलभर १४ वटा पोस्ट् प्रहार गरेको रियलको प्रयासमा गेटाफेको रक्षापंक्ति बाधक बनेको थियो । गेटाफेका डेभिड सोरिया ‘म्यान अफ दी म्याच’ भए ।

Advertisement

हारसँगै रियलले शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । रियलको २० खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ । सेभियाले दुई खेल कम खेलेको छ । १८ अंक बनाएको गेटाफे १६औं स्थानमा उक्लिएको छ ।

आइतबार रातिनै भएको अर्को खेलमा बार्सिलोनाले मालोर्कालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको जितमा लुक डि जोङले निर्णायक गोल गरे । जोङले ४४औं मिनेटमा ओस्कर मिगुइजाको पासमा गोल गरेका थिए ।

६५ प्रतिश बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न हम्मेहम्मे परेको थियो । कोरोनाका कारण बार्सिलोनाका अधिकांश सिनियर खेलाडी खेलेका थिएनन् । तरपनि मालोर्काले त्यसको फाइदा उठाउन सकेन ।

जितसँगै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोनाको १९ खेलबाट ३१ अंक पुगेको छ । पराजित मालोर्का २० अंक सहित १५औं स्थानमा छ । अर्को खेलमा रायो भालेकानोलाई २-० गोलले हराउँदै एट्लेटिको म्याड्रिड पाँचौं स्थानमा उक्लिएको छ ।

एट्लेटिकोले १९ खेलबाट ३२ अंक बनाएको छ । पराजित रायो भालेकानो ३० अंक सहित छैटौं स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । घरेलु मैदानमा आइतबार रातिनै भएको खेलमा बेटिस सेल्टा भिगोसँग २–० गोलले पराजित भयो । जितसँगै २३ अंक बनाएको सेल्टा भिगो १२औं स्थानमा उक्लिएको छ । अन्य खेलमा रियल सोसिडाड र अलाभेसले १–१ तथा इल्चे र ग्रानाडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

 

Advertisement

Advertisement