ओलीले विकास र संवृद्धिलाई तीब्रता दिनुभाथ्यो, अहिले अर्थतन्त्र धरासायी बनाइयोः रायमाझी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्नि सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् । 

बिहीबार रिपोर्टर्स क्लबमा उनले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए । रायमाझीले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’ 

Advertisement

रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए । यद्यपी आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । रायमाझीले भने, ‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’

उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । रायमाझीले भने, ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ । नयाँ संविधान बनेपछि एमाले अथवा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तीब्ररुपमा अघि बढाएको थियो । विकास निर्माणका काम अहिले पनि अघि बढिरहेका छन् । राष्ट्रियता, सामाजिक सुरक्षा र न्यायको पक्षमा एमाले अग्रपंक्तिमा उभिएको छ । यो कारणले हामीलाई जनताले ठूलो समर्थन जनाएका छन् ।’

उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गरे । रायमाझीले थपे, ‘एमाले यतिबेला परमादेशको कारण प्रतिपक्षमा छ । एमालेविरोधीहरुले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । उनीहरु अब पराजित मानसिकतामा छन् । एमालेले जित्छ त्यसैले गठबन्धन गर्नुपर्छ भनेर उनीहरुले भनेका छन् । उनीहरुलाई जनताको समर्थन छैन् । यो गठबन्धन लोभी पापीहरुको झुण्ड हो । केपी ओलीको नेतृत्वको सरकारको पालामा विकास र समृद्धिको अभियान तीव्ररुपमा अघि बढिरहेको थियो । तर अहिलेको सरकार आएपछि अर्थतन्त्र धरायशी भएको छ । जताततै खिचलो भएको छ । संकटको घडीमा पनि ओली सरकारले राम्रो काम गरेको थियो । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । जनता अत्यन्तै निराश छन् ।’

नेता रायमाझीले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीयतहसम्म बुहमत र शानदार विजयी हाँसिल गर्ने दाबी गरे । उनले भने, ‘हामी विगतमा हामी सरकारको नेतृत्वमा हुँदा हामीले गरेका काम लिएर जनतामा जान्छौं । एमाले भनेको पूरानो होईन, नेकपापछिको एमाले हो । अहिलेको एमाले परिमार्जित नेकपा हो । एमाले नेकपा कै निरन्तरतामा छ । हामी पनि त्यहाँ छौं । हामी पार्टी एकताकै निरन्तरतामा छौं ।’

उनले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । रायमाझीले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस । संसद्मा टेबुल भएपछि हामी सोच्छौं । अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।’ उनले प्रधानमन्त्री शेरहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए ।

रायमाझीले हार्ने मनस्थितिका कारण सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाए । उनले भने, ‘स्थानीय तहको निर्वाचन त हुनुपर्छ । निर्वाचन गर्नैपर्छ नि, कानून र संविधान मान्ने हो भने निर्वाचन समयमै गराउनुपर्छ । स्थानीय तहको निर्वाचन सार्न यो गठबन्धनका नेताहरुले मरिहत्ते गरिरहेका थिए । तर, जनस्तरबाट चर्को दबाब आएपछि र विरोध भएपछि उनीहरु हच्किएका छन् ।’

तत्काल निर्वाचनको मिति घोषणा हुनुपर्ने बताउँदै उनले चुनाव जित्ने भएको भए निर्वाचन सार्न खोज्दैन् थिए भने । हार्ने मनस्थिति देखेर नै उनीहरुले गठबन्धन गरेर चुनाव सार्न खोजेको रायमाझीको तर्क छ । 

रायमाझीले एमालेलाई पत्तासाफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन सुझाव दिए । उनले भने, ‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्तासाफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस् । अनि को हुन्छ पत्तासाफ ? प्रचण्डको कुरा हावादारी कुरा हो । २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भए माओवादीको हालत के हुन्थ्यो ? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नुपर्दथ्यो र ?’

रायमाझीले आफूहरुले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे  । उनले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोड्नुपर्छ भनेको छैन् । हामीलाई चाहिएको छ– चुनाव । हामीचुनाव चाहन्छौं ।’

नेता रायमाझीले एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने बताए । उनले भने, ‘पहिले तावा तात्नुपर्छ, अनि रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा ल्याओस ।’

रायमाझीले नेपालमा जतिसक्दो छिटो ट्रान्समिसन लाईन आवश्यक रहेको सुनाए । उनले भने, ‘नेपालमा हाईड्रोपावरको प्रोजेक्ट दिन प्रतिदिन सम्पन्न हुँदैछन् । अब चाहिनेभन्दा बढि उर्जा आउँदैछ । निर्यात गर्नुपर्छ भनेका छौं । भारत, पाकिस्तान, बंगलादेशसँग बजार खोज्ने हो । यसको लागि ट्रान्समिसन लाईन चाहिन्छ । यो बनाएनौं भने नेपालमा उत्पादित बिजुली खपत हुँदैन् । यो लस हुन्छ । ट्रान्समिसन लाईन छिटो बन्नुपर्छ । एमसीसी सहमति गरेर पास गराउनुपर्छ ।’

Advertisement

Advertisement