एमसीसी पास गरिहालौंः देउवा, चुनावपछि गरौं नः प्रचण्ड, पहिला सत्तापक्षले निर्णय गरोसः ओली

Advertisement

काठमाडौँ । अमेरिकाले दबाब दिएसँगै एमसीसी सम्झौता अनुमोदन गर्ने नगर्ने विषयमा छलफल गर्न आइतबार बसेको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्को सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको बैठक विना सहमति टुंगिएको छ । 

बैठकमा एमसीसीबारे सत्तारुढ दलका नेता देउवा र प्रचण्डबीच फरक फरक धारणा आएको छ भने एमाले अध्यक्ष केपी ओलीले भने पहिला सत्तापक्षको आधिकारिक धारणा आएपछि आफ्नो पार्टीले निर्णय गर्ने बताएका छन् । 

Advertisement

नेता प्रचण्डले एमसीसीबारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका थिए । देउवाको आमन्त्रणमा बालुवाटारमा भएको बैठकमा उनले एमसीसीलाई चुनावपछि छलफल गर्नु उपयुक्त हुने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए । 

प्रचण्डले भनेका थिए, ‘सामुन्नेमा चुनाव छन् । त्यसैले एमसीसीलाई चुनावसम्मका लागि स्थगित गरौं । सत्ता पक्ष र प्रतिपक्षसहितको सहमतिमा चुनावपछि संसद्‌मा पेस गरौं । त्यो उचित हुन्छ । 

उनले संसद् सञ्चालन गर्न दिन ओलीलाई आग्रह पनि गरेका थिए । देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अडान राखेका थिए । त्यसका लागि सहयोग गर्न ओली र प्रचण्ड दुवैलाई उनले सहयोग गरेका थिए । 

एमाले अध्यक्ष ओलीले भने एमसीसी पास गर्न साधारण बहुमत आवश्यक रहेको र सत्ता गठवन्धनसँग त्यो मत रहेको बताउँदै सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा आफूहरुले पनि एमसीसीबारे आफ्नो धारणा ल्याउने बताएका थिए । 

उनले भनेका थिए, ‘अहिले सत्ता पक्षकै एकमत देखिएको अवस्था छैन । सरकारले आफ्नो धारणा राखेको अवस्थामा एमालेले अनिर्णित रहँदैन । हामी आफ्नो स्पष्ट निर्णय गर्छौँ ।’

Advertisement

Advertisement