चित्रबहादुर केसी भन्छन्– अमेरिकाले हामीलाई खसी देखाएर फर्सी भिडाउन लाग्यो

Advertisement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको तर्क गरेका छन् । 

बुधवार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

Advertisement

केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए । 

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप पनि लगाए । केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए । 

नेता केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउँदै गठबन्धन नेपाली काँग्रेसबाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भने पनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे । 

उनले दुई वर्ष यता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताए । उनले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएकोसमेत बताए । केसीले नेपाल अहिले विदेशीहरुको लुटको अखडा भएको आरोप समेत लगाए । 

उनले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाए । केसीले नेपाल जस्तो कृषिप्रदान देशमा अहिले वार्षिक ५० अर्बभन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरु मात्र पलायन भएको बताए । उनले नेपाली शासकहरुले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन् भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताए । 

Advertisement

Advertisement