पशुपतिका गाई पाल्ने गोठ टहरा भत्काउने मन्त्री आलेको निर्णयप्रति आपत्ति, भत्काए पाप लाग्ने !

Advertisement

काठमाडौं । मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाहरुको उपचार, संरक्षण, पालनपोषणको लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध जनाएको छ । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानले पशुपति क्षेत्र विकाश कोषले दिएको आदेशले गौसंरक्षणमा लागेकाको अपमान भएको भन्दै विरोध गरेको हो । गत माघ १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दिएको मौखिक आदेश ‘एक पैसा पनि भाडा नलिई गाई पालन गरेको, के गरेको यस्तो, १५ दिनभित्र खाली गर्न पत्र लेख्नु’ सम्बन्धमा संस्थाको ध्यानाकर्षण भएको जनाएको छ । 

Advertisement

आराध्यदेव भगवान पशुपतिनाथमा पुजा गरी छाडिएका नन्दीहरुको वासस्थान भनेको हालको नन्दी स्थल नै भएको अभियानले स्पष्ट पारेको छ । अभियानले हिन्दु धर्मालम्बीहरुले धार्मिक कृत्यका लागि डामेर छाडिएका नन्दीहरु तथा पशुपतीनाथ गुह्येश्वरी परिसरमा छाडिएका गाई तथा बाच्छोहरु प्राचिनकालदेखि नै द्धचाकेव (नन्दी वासस्थल)मा नै बसोवास गर्दै आएको बताएको छ । 

सांसद तथा समाजसेवी नरोत्तम बैद्यले पशुपति विकास कोषले केही नगरेको भनेर पुर्वाग्रह राख्न नहुने बताए । कोषका पुराना अधिकारीहरुले गाईहरुको राम्रोसँग संरक्षण गरेको स्मरण गराउँदै उक्त समयमा कोषले गाईहरुको संरक्षण गर्न नसकेर आफूहरुको संस्थालाई जिम्मा दिएको बताए । वैद्यले कोषले गाईहरुको संरक्षण र व्यवस्थापन गर्न जग्गा नै छुट्टाएको जिकिर गर्दै सर्वोच्च अदालतको परमादेश अनुसार काम गरिरहेको स्पष्ट पारे । 

परमादेशको उल्लंगन गर्ने कसैको अधिकार नभएको उनको भनाई थियो । मठ मन्दिर गाई बाच्छा बचाउ तथा सामाज विकाश अभियानले कोषसँग वार्ताको माध्यमबाट छलफल गर्न पर्ने बताएको छ । कोषले जुन काम गर्दा पनि गुरुयोजनालाई प्राथमिकतामा राख्नपर्ने वैद्यले सुझाव दिए । कोष धर्मसापेक्ष भएको जिकिर गर्दै उनले राजनीतिक दलहरुले आफ्नो मान्छे पठाउने तर वास्तविक पशुपतिलाई बुझ्ने कोही व्यक्ति नपठाएको दुखेसो पोखे । 

लुम्बिनीलाई बुद्धिष्टहरुको स्वर्ग, पशुपतिनाथलाई हिन्दुहरुको स्वर्ग र हिमाललाई पर्यटकीय स्वर्गको रुपमा सरकारले बुझ्न सकेमा देश समृद्ध हुने उनले बताए । वैद्यले पशुपति नाथमा भएको गौशला हटाउन खोजेमा उसलाई ठूलो पाप लाग्ने पनि बताए । 

पूर्वडिआइजी विजयराज भट्टले २०७१ असोजमा पशुपतिनाथको गौशाला बचाउन संस्थाको स्थापना भएको बताए । उनले भने, ‘पशुपतिमा भएको गौनन्दीहरुको संरक्षण तथा छाडेका दुःख पाएका गौहरुको सम्हार गरिरहेको छौ ।’ भक्तहरुले पुण्य आर्जन गर्नको लागि नन्दीको सेवा आफूहरुले गरिरहेको भट्टले बताए । 

क्रियापुत्रीहरुले गाईको गहुत प्रयोग गर्नेगरेको उनले बताए । विगत तीन वर्षदेखि गौशालामा गाईहरुलाई लखेट्न लागेको स्मरण गराउँदै भट्टले सोही समयमा ९–१० वटा गाईको मृत्यु भएको पनि जानकारी दिए । गाईको संरक्षणको लागि कानुुन व्यवसायीहरुले सर्वोच्चमा रिट दिएपछि अदालतले संरक्षण गर्न आदेश दिए पनि अहिलेसम्म राम्रो हेरचाह हुन नसकेको बताए । 

भगवान भोलेनाथको शरणमा परेका गाईलाई संसारको कुनै पनि शक्तिले हटाउन नसक्ने भट्टको तर्क छ । लाखौं भक्तहरुले गाईलाई चारो दिएर पालेको भन्दै उनले कोषले पनि गाईको लागि केही लगानी नगरेको बताए ।  

अभियानका संस्थापक आरबी न्यौपानेले आफूहरुले चलाएको अभियान सबै नेपालीहरुको साझा भएको बताए । उनले भने, ‘भर्खरै मात्र मन्त्री प्रेम आलेले गाई पाल्न दिन हुन्न भनेर आदेश दिँदा निकै दुःख लागेको छ । सरकारको काम हामीले गरेका छौ । उल्टै हामीलाई अपमान गरियो ।’ आफूले गाईको राम्रो संरक्षण गरकै कारण अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको भन्दै न्यौपानेले नेपाल सरकारले भने अपमान गरेकोमा आपत्ति जनाए ।

उनले भने, ‘राति–राति गाईलाई कुुकुरले टोकेको, धारिलो हतियारले काटेको खबर आउने र सोही समयमा नै हामी गएर उद्दार गर्दै आएका छौ । आज मन्त्रीको आदेशले गौमाताको अपमान भएको छ ।’ न्यौपानेले गाईले नै पशुपतिनाथ पत्ता लगाएको स्मरण गराउँदै पछिल्लो समयमा देशमा पाप बढिरहेको आरोप लगाए । सरकारको काम आफूहरुले गरिदिएको भन्दै उनले पुरस्कार दिनुको साटो उल्टै अपमान गरेको बताए । 

Advertisement

Advertisement