विदेशीको बुई चढेर जनतालाई शासन गर्न खोज्दा नेपाल पनि पछि युक्रेन हुनसक्छः डा. पोखरेल

Advertisement

काठमाडौं । विश्लेषक डा. अम्बरिश पोखरेलले विदेशको बुई चढेर जनतामाथि शासन गर्न खोज्दा नेपाल पनि पछि युक्रेन जस्तो हुनसक्ने बताएका छन् । फेसबुकमार्फत टिप्पणी गर्दै उनले नेपालको बिग्रदो अवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । 

युक्रेन अहिले दुई शक्ति राष्ट्र अमेरिका र रुसको क्रिडास्थल बनेको छ भने नेपालमा पनि अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदन गर्ने नगर्ने विषयलाई लिएर चीन र अमेरिकाको चासो बढेको छ । तर यहाँका राजनीति दल र नेताले भने यस समस्यालाई सामान्यीकरण गर्ने भन्दा झन चर्काउँदै लगेका छन् ।

Advertisement

डा. पोखरेलले आफ्नो विचार यसरी राखेका छन्ः  

नेपाल पनि युक्रेन जस्तो टुक्रिन सक्छ । 

१. विदेशीहरुको बुई चढेर शासन गर्न खोजेपछि युक्रेन जस्तो हुन सक्छ नेपालको भविष्यः

(क) न त युक्रेन अब कहिल्यै भावनात्मकरूपमा रसियन बन्छ । 
(ख) नत अब त्यो स्वतन्त्र रूपमा रहन सक्छ !
(ग) शक्ति राष्ट्रको कठपुतली बनेर बस्न अभिसप्त हुनेछ । 

२. यो परिस्थितिसम्म आइपुग्दा करिब १५ हज्जार युक्रेनियन जनताको हत्या (मृत्यु) भइसकेको छ। आजदेखि पुनः नयाँ मृत्यु सुरु भएको छ । 

३. हालको लागि कम्तीमा पनि पूर्वी युक्रेन (जस्तैः डोनबस् क्षेत्र (जहाँ रसियन प्रभाव बढी छ) रसियाले लिन्छ वा टुक्राइदिन्छ केही दिन वा महिनाभित्र । रसियन संसद डुमाले राष्ट्रपति पुटिन समक्ष यही १६ तारिखको दिन सिफारिश गरिसकेको छ । पश्चिमी युक्रेनी जनता, रसियाको नयाँ प्रकारको दमनमा पर्नुपर्ने हुनसक्छ । यदि युक्रेन रसियामा विलय भयो भने त्यो भन्दा ठूलो पीडा के होला ?

४. आफू नाटोमा सहभागी नहुने घोषणा आफै गर्नु, युक्रेनको लागि ठीक बाटो हो, हालको लागि । 

५. आफूलाई बेलगाम शक्ति ठानिरहेको अमेरिका तथा नाटोलाई खुला रूपमा आफ्नो शक्ति पुनरभासित गरेको खुला जानकारी प्रदर्शन गरिरहेका छन् पुटिनले । 

६. सारा विश्वलाई आज खुला रूपमा सबै प्रकारका (जस्तैः सुपर सोनिक, जसले आणविक हतियार बोक्न मिल्ने) मिसायलको डेमो ड्रिल गरेको कुरा बाहिर प्रसारण गरेका थिए । विश्वका थुप्रै टेलिभिजनहरुले प्रसारण गरेका थिए । परमाणु बम बोकेर निश्चित बिन्दुमा खसाल्ने विमानको स्वतः डेमो प्रसारण भएको थियो । अहिले पनि हेर्न सकिन्छ रेकर्डमा । 

७. घरको आगनमा नेटो आउने तयारी रोक्नु रसियाको आफ्नो सुरक्षा चासो हो । सबैले गर्ने त्यही हो । युक्रेनमा नाटो आउनु भनेको कम्तीमा पनि चार कुराहरू हुनु हो । 

(क) भौतिक रूपमै रसिया तीर मिसायल तेर्सो (ठाडो) पारेर राख्नु हो । 
(ख) युक्रेनले क्रिमियामाथि हान्ने (पुनः आफूमा समाहित गर्ने) दाउ गर्नु हो । 
(ग) जर्जियालाई विद्रोहका लागि उकास्नु हो । 
 (घ) अझभित्र पट्टिको भूभागमा रहेका चेचेन् वीरहरूलाई पुनः विद्रोहका लागि वातावरण तयार गरिदिनु हो । 

८. ठीक यही कुरा नेपालको हकमा लागू हुन्छ । भारत वा चिनियाँले सुरक्षा चासोको नाममा जहिले पनि नेपालमाथि धावा बोल्न सक्छन्, यदि हामीले यहाँ कुनै एक शक्तिलाई खेल्ने, घुस्ने वा हैकम जमाउने ठाउँ दियौ भने । 

९. हामी नेपालीले सबै प्रकारका शक्तिहरूलाई बराबरी दूरीमा राखेर विकासको बाटोमा अघि बढे हुँदैन ? 

१०. सत्ता, शक्ति र अकुत सम्पति आर्जन (पैसा) गरेर विदेशमा थुप्रो लगाउनको लागि, तीन करोड नेपाली जनताको भविष्यमाथि सधैं खेलवाड गरी राख्ने ? देशको इतिहास नै धारापमा पारेर विदेशी शक्तिको दलाली गरी राख्ने ?
अस्तु । 

Advertisement

Advertisement