गगन थापाको प्रश्न– भीम रावल, देव गुरुङ र झलनाथले के हैसियतले एमसीसी राष्ट्रघाती भन्छन् ?

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले भीम रावल, देव गुरुङ र झलनाथ खनालले एमसीसी राष्ट्रघाती हो भन्ने हैसियत राख्न नमिल्ने टिप्पणी गरेका छन् । 

एमसीसी टेवल भएपछि संसदबाहिर प्रतिक्रिया दिँदै उनले एमसीसी राष्ट्रघाती हो भन्नेहरुले पार्टीका प्रमुख नेताहरु केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई सदनमा राष्ट्रघाती मुर्दावाद भन्ने हैसियत राख्न सक्नुपर्ने बताए । 

Advertisement

सांसद थापाले एमालेको अवरोधबीच एमसीसी संसदमा छलफल हुन्छ वा हुँदैन् भन्ने कुराको शंका आजबाट सक्किएको समेत बताए । उनले अबका दिनमा नाराबाजीकै बीचमा एमसीसीबारे छलफल हुने पनि दावी गरे । 

थापाले भने, ‘यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिला मान्य भीम रावलले केपी ओली राष्ट्रघाती मुर्दावाद भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ । यो प्रश्ताव राष्ट्रघाती हो भन्ने हो भने पुष्पकमल दाहाल मुर्दावाद भनेर मोआवादीका सांसदहरुले र माधव नेपाल मुर्दावाद भनेर एकीकृत समाजवादीका सांसदहरुले नारा लगाउनुपर्छ । त्यसपछि मात्रै यसका बारेमा उहाँले कुरा राख्नुपर्छ ।’

अवरोधका बीचमा संसदमा छलफल होला कि नहोला भन्ने कुरा पनि आजबाट टुंगिएको उनले बताए । थापाले थपे, ‘हामीलाई त्यही एउटा कुराको डर थियो । आजको छलफलमा नेकपा एमालेले भाग लिनुभयो । मजदुर किसान पार्टी, जनमोर्चा, माओवादी पार्टी सबैले भाग लिइसकेपछि १२ गतेबाट यसमा सामान्य छलफल प्रारम्भ हुन्छ । छलफल आज जसरी भएको छ त्यसरी नै हुन्छ । नाराबाजीकै बीचमा छलफल हुन्छ भन्ने कुरा नाराबाजी गर्नेहरुले नै छलफलमा भाग लिएर पुष्टि गरिसक्नुभयो । अन्य विधेयकमा छलफल भएझैँ छलफल हुन्छ र यो मतदानमा जान्छ । मतदानमा जाँदै गर्दा हिजो नेकपाको सरकार हुँदा आफैँ सरकारमा बसेर तयार गरेको प्रस्ताव आज शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको प्रस्ताव संसदमा प्रस्तुत भइरहेको बेलामा सबै सांसदहरु यहाँभित्र उपस्थित भएर यसको पक्ष वा विपक्षमा मतदान गर्ने हो । एउटा प्रश्न भने आउँछ ।’

सांसद थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अब पनि दोहोरो चरित्र देखाउन नमिल्ने बताए । पक्ष वा विपक्ष के कुरामा मत हाल्ने हो त्यो बारेमा आफ्नो पार्टीको स्पष्ट धारणा निकाल्नुपर्ने उनको भनाई छ । 

थापाले संसदमा एमसीसी पास भएको र यसलाई संशोधन गर्ने विकल्पसहित अघि बढ्न सकिने भन्दै आज एमसीसी संसदमा पेश गर्न सहमत भएका दलहरु पनि एमसीसी पास गर्ने दिनसम्म मत दिनका लागि तयार हुने दावी गरे । 

थापाले भने, ‘सरकारमा पनि बस्ने, सरकारले ल्याएको विपक्षमा मतदान गर्ने कुरा यो राजनीतिक नैतिकताको प्रश्न पनि होला । यो जवाफदेहीताको प्रश्न पनि होला । जनतालाई जवाफ दिने कुरा पनि होला । त्यसैले मलाई के लाग्छ भने अब सबैले आफ्नो डबल स्ट्याण्डर छोड्नुपर्छ । पक्षमा हो भने पक्षमा हो, विपक्षमा हो भने विपक्षमा हो । यसको विपक्षमा हो भने विपक्षमा मतदान गर्ने, आधाले विपक्षमा मतदान गरेजस्तो गर्ने, विपक्षमा लागेजस्तो गर्ने, आधाले पक्षमा लागेको जस्तो गर्ने कुरालाई बन्द गर्नुपर्छ ।’

उनले थपे, ‘हामी के आह्वान गर्छौं भने १२ गतेको छलफलमा सबैले भाग लिऔँ । संसदको प्रक्रियाअनुसार मतदानमा जाँदै गर्दा यसमा हिजो प्रस्तुत गर्न खोज्ने नेकपा एमालेलाई पनि पक्षमा मतदान गर्न अनुरोध गर्छौं । अहिले सरकारमा भएको माओवादी, समाजवादी सबैलाई अनुरोध गर्दछौँ । सँगै यसमा परिमार्जनको कुरा छ । परिमार्जनको २ विकल्प हामीले छलफलमा ल्याइरहेका छौँ । एउटा व्याख्यात्मक घोषणाको माध्यम छ । त्यो माध्यमलाई पनि संसदले लिएर जानसक्छ । संकल्प प्रस्तावको अर्को माध्यम छ । यी माध्यममा काम गर्ने हो भने काँग्रेस सबै माध्यममा कुरा गर्न तयार छ ।’

Advertisement

Advertisement