बैंकिङ कसुर, ठगी र सुन तस्करीमा पक्राउ पर्दै चिनियाँहरु

Advertisement

काठमाडौँ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न चिनियाँ नागरिकहरु धमाधम पक्राउ पर्न थालेका छन् । विगतमा पनि यस्ता अपराधिक क्रियाकलापमा चिनियाँहरु संलग्न हुने गरेका र पछिल्लो समय फेरि उनीहरुको सक्रियता देखिन थालेको छ । 

बैंकिङ कसुरमा एक चिनियाँसहित ३७ जना पक्राउ

Advertisement

यसैक्रममा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ । 

सिन्धुली घर भई ललितपुर बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको प्रहरीको दाबी छ । 

उनीहरुले इजी क्रेडिट, फ्रि क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाइ क्यासलगायत एप्लिकेशनमार्फत गैरकानूनी तवरले लोन स्किम दिइरहेको छ भन्ने विशेष सूचनाका आधारमा गत सोमबार महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले पुरानो बानेश्वरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  

उनीहरुको साथबाट ल्यापटपलगायतका सामग्री बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले मंगलबार एक विज्ञप्ति जारी गरी जनाएको छ । 

चिनियाँ नागरिकसहित ८० जना पक्राउ
त्यसैगरी अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई मंगलबार पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । भारतीय मुलका युवा युवतीलाई छोटो समयका लागि मिटर ब्याजका रुपमा रु पाँच हजारदेखि रु १० हजारसम्म ऋण दिएर उक्त ऋणको मिटर ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गरेको पाइएको उनले बताए ।  

चिनियाँ नागरिक वानजिनिओ सनसिटी अपार्टमेन्टमा बस्दै आएको र नेपाली युवा युवतीहरु प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको उजुरी परेपछि मंगलबार प्रहरीले सानोठिमीमा तीन तले घर भाडामा लिई सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४७ नेपाली महिला र ३३ पुरुष रहेका छन् । प्रहरीले सानोठिमीस्थित कल सेन्टरमा प्रयोग भइरहेको डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान, आइप्याड दुई थानलगायतका उपकरण बरामद गरेको छ । 

सुन तस्करी गर्ने चिनियाँ नागरिक पक्राउ
यता, आफैँले लगाएको कपडा मै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै रु चार करोडको सुन तस्करी गरेको खुलेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २९ गते शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए तर उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो । सो क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

उनलाई सादा पोसाकमा परिचालित प्रहरी टोलीले पक्राउ गरेको थियो । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आउने क्रममा विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्दा उनको शरीरमा सुन फेला पारिएको हो । 

बरामद सुन अर्ध ठोस अवस्थाको छ । पेन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाएर एक पोका तथा भित्र वस्त्रका विभिन्न स्थानमा फल्स बटम बनाएर अन्य तीन गरी जम्मा चार पोका सुन बरामद भएको छ । 

Advertisement

Advertisement