नेपाल बैंकको खातामा पैसा भएको ६२ लाखको चेक दिने अधिकारी तारकेश्वरबाट पक्राउ

Advertisement

काठमाडौँ । अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको जानीजानी जाहेरवालालाई झुक्यानमा चेक काटेर दिएका थिए । 

Advertisement

उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी रू ६२ लाख आठ हजार जरिवाना र १० दिन कैद हुने ठहर गरेको थियो ।

यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले आज तारकेश्वरबाट पक्राउ गरेको हो । अधिकारीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । 

नक्कली पूर्जा देखाएर ३३ लाख ठगी
यता, नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी रु ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् । 

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना रु ३५ लाखमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन् । पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर रु ३३ लाख लिएर जग्गा  बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताए ।   

तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए । पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो । उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ । बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।  

Advertisement

Advertisement