झलनाथ खनालको चेतावनी– एमसीसी फिर्ता नभए सडक तात्ने होइन्, बल्छ

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन् । 

बिहीवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधिनता र स्वाभिमान बचाउन लागेकोले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गरे । 

Advertisement

खनालले एमसीसीको बिरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभई बल्ने गरी आन्दोलन हुने चेतावनी दिए । उनले भने, ‘एमसीसीले सिंगो देश विभाजित भइरहेको छ । पार्टीहरु विभाजित भइरहेका छन् । संसद पनि विभाजित भइरहेको छ । यसलाई अझै विभाजित कसरी गर्ने भन्नेमै लागेको हो कि भन्ने लागिरहेको छ । नेताहरुले दूरदर्शी भएर सिंगो राष्ट्रलाई आफ्नो ध्यानमा राखेर सम्पूर्ण जनतालाई एकतावद्ध बनाएर लैजानुपर्छ भन्ने प्रतिवद्धता उनीहरुले बिर्सिए भन्ने मलाई लाग्छ ।’

पार्टीभित्र चिन्तनहरुमा तलमाथि हुनसक्छन् तर यो निर्णयमा हामी एकतावद्ध हुन्छौँ भन्दै खनालले थपे, ‘गठबन्धन भत्कन्छन्, बन्छन् यी अस्थायी घटनाक्रम हुन् । देश, जनता, राष्ट्रको हितलाइ कहिल्यै छोडिँदैन त्यसमा दृढतापूर्वक हामी अघि बढ्छौँ । एमसीसीले कुरा कहिल्यै मिल्दैन । एकथरि महाशक्तिको पछि लागेका छन् । अर्कोथरि देशको स्वतन्त्रता, सार्वभौमिकतामा लागेका छन् । सडक आवश्यकताबमोजिम तात्छ, तात्छ मात्रै होइन, त्यो बल्छ ।’

Advertisement

Advertisement