ईशावास्योपनिषद्ः आफ्नो कल्याण चाहनेले विद्या, कर्म दुवैको उपासना गरुन्

Advertisement

शिरीषवल्लभ प्रधान

उपनिषद्ले कर्म र विद्या दुई भिन्नाभिन्नै मार्गको अनुशरण गर्ने व्यक्तिहरुको गति कस्तो हुन्छ भनी निम्न श्लोकमा व्याख्या गरेको छः

Advertisement

अन्धं तमःप्रविशन्ति ये ... विद्यामुपासते ।
ततो भूयइव ते तमो य उ विद्ययाँ रताः ।। ९ ।।

अर्थात्, जो अविद्या अर्थात् कर्मको उपासना गर्छन्, त्यो अविद्यास्वरुप घोर अन्धकारमा प्रवेश गर्छ र जो विद्याको मात्र उपासना गर्छ, त्यो झन् घनघोर अन्धकारमा प्रवेश गर्छ ।

जो अग्निहोत्र आदि कर्मकै अनुष्ठान गर्छन्, तिनीहरु अविद्याको उपासक हुनाले घोर अन्धकारमा प्रवेश गर्छन् अर्थात् कर्मकाण्डमा लाग्नेहरु अज्ञानरुपी अन्धकारमा जाकिनपुग्छन् । त्यस्तै चित्त शुध्द नभएका अज्ञानी अग्निहोत्र आदि कर्मलाई त पूरै त्याग्छन् तर कितावी ज्ञानमा मात्र रमाउँछन् भने त्यस्ता व्यक्ति झन् घनघोर अन्धकारमा प्रवेश गर्छन् । अज्ञानीहरुले कर्मलाई त्याग्दैमा उसको कल्याण हुँदैन भन्ने आशय यहाँ देखिन्छ । यसरी कर्मलाई त्यागेर केवल कितावी ज्ञानमा मात्र रटान दिनेहरु आत्मज्ञानबाट बन्चित भई जन्म, मृत्युको चक्करमा फसिरहने हुँदा घनघोर अन्धकारमा पर्छन् भनिएको हो । 

सो उपनिषद्कै अर्को श्लोकमा विद्या र कर्म दुवैको महिमा गाउँदै भनिएको छः

विद्यां चाविद्यां च यस्तव्देदोभयँ सह ।
अविद्ययामृत्युं तीत्र्वा विद्ययामृतमश्नुते ।। ११ ।।

अर्थात्, जो विद्या र अविद्या दुवैको एकसाथ उपासना गर्छन्, त्यसले अविद्या अर्थात् कर्मव्दारा मृत्यलाई पार गरेर विद्याव्दारा अमरत्व प्राप्त गर्छन् । यहाँ अग्निहोत्र आदि कर्म गर्नाले संचित पाप नाश हुने हुनाले त्यस्ता व्यक्ति कर्मफलको भागिदार हुँदैन र त्यस्ता शुध्द चित्तभएका व्यक्ति आत्मज्ञान हासिल गरी अमर हुन्छन् भनिएको हो ।

गीतामा भगवान् श्रीकृष्णले पनि ज्ञान र कर्म दुई प्रकारका मार्गहरुको उपदेश दिनुहुन्छ । अर्जुन कर्मका अधिकारी हुनाले उनलाई क्षत्रीय धर्म अनुसारको कर्म अर्थात् युध्द गर भनी श्रीकृष्ण पहिला युध्दको अनुमति दिनुहुन्छ र पछि ज्ञानयोगको उपदेश दिनुहुन्छ । त्यस्तै यहाँ पनि विद्या र अविद्यामार्फत ज्ञान र कर्मकाबारे उपदेश दिइएको छ । 

त्यसैगरी, उपनिषद्मा सम्भूति अर्थात् व्यक्त वा कार्यब्रह्मको उपासना गर्ने र असम्भूति अर्थात् अव्यक्तको उपासना गर्नेको बेग्लाबेग्लै फल बताइएको छ । उपनिषद्ले भन्छ, जो असम्भूतिको उपासना गर्छ, ऊ घोर अन्धकारमा प्रवेश गर्छ र जो सम्भूति अर्थात् कार्यब्रह्मकै रत लगाइरहन्छ, ऊ त्यो भन्दा पनि झन् भयानक अन्धकारमा प्रवेश गर्छ । जो कार्यब्रह्म र असम्भूति दुवैको साथसाथ उपासना गर्छ, उसले कार्यब्रह्मको उपासनाव्दारा मृत्युलाई पार गरेर असम्भूतिको उपासनाव्दारा अमरत्व प्राप्त गर्छ । संक्षिप्तमा भन्नुपर्दा उपनिषद्ले मानिसलाई कल्याण प्राप्त गर्नका निम्ति विद्या र अविद्या अर्थात् ज्ञान र कर्म दुवैलाई साथसाथै अपनाउने मार्गनिर्देश गर्छ । 

उपनिषदले तीन प्रकारका मार्गबारे वर्णन गरेको छ । पहिलो, कर्मका अधिकारीलाई कर्म गरेर नै सय वर्ष बाँच भन्ने उपदेश दिएको छ भने दोश्रो, अपरब्रह्म विषयक विद्या प्राप्त गर्न चाहनेहरुलाई विभिन्न देवीदेवताको उपासना गरी स्वर्ग आदि प्राप्त गर्ने सल्लाह दिइएको छ । त्यसैगरी श्लोक १५ मा हिरण्मयेन पात्रेण भनेर मोक्ष चाहनेहरु आत्मज्ञान हासिल गरी मुक्ति प्राप्त गरुन् भनी उपदेश दिइएको छ ।
उपनिषद्मा आत्माको वर्णन गर्दै अगाडि यस्तो भनिएको छः

त्यो आत्मा सर्वगत, शुध्द, अशरीरी, अक्षत, स्नायुरहित, निर्मल, अपापहत, सर्वद्रष्टा, सर्वोत्कृष्ट र स्वयम्भू हुन्छ । 

अर्थात् त्यो आत्मा सर्वत्र विद्यमान् छ, शुध्दस्वरुपको छ, कुनै शरीरमा बाँधिएको हुँदैन, त्यसको विनाश हुँदैन् । त्यसलाई पापले छुंदैन् । त्यो स्वच्छ हुन्छ । त्यो सारा संसारको द्रष्टा बनेर रहेको छ । त्यो भन्दा उत्कृष्ट अरु केही छैन् र त्यो स्वयं उत्पन्न भएको हो । (ईशा ८)

(यो लेखको अंग्रेजी संस्करण द नेपाल विक्लीमा हेर्न सकिन्छ)

Advertisement

Advertisement