सत्ता गठवन्धन पनि टुट्दैन, एमसीसी पनि पास हुन्छः बिडारी

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद रामनारायण बिडारीले सत्ता गठबन्धन कायम रहनेगरी एमसीसी परिमार्जनसहित पारित गर्ने सहमतिको तयारी भइरहेको बताएका छन् । 

शनिबार रिपोर्टर्स क्लबमा उनले एमसीसी परिमार्जनसहित मात्रै संसद्बाट अनुमोदन हुने दाबी गरे । बिडारीले भने, ‘एमसीसी संशोधनसहित पारित गर्नुपर्छ । यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं । ८ देखि १० पत्र टेबुल हुनुपर्यो । भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन् । यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ । यो व्याख्या नेपाली संसदले गर्नुपर्छ । हामी सबै कार्य गर्नको निम्ति, अध्ययन गरेर मात्रै टुँगो लगाउँछौं ।

Advertisement

उनले आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने पनि स्पष्ट पारे । बिडारीले थपे, ‘माओवादीले एमसीसीको पक्षमा मतदान गर्दैन् । अहिले मतदान गर्दैन् । अहिलेको अवस्थामा हाम्रो पार्टीले यसको पक्षमा मत हाल्दैन् । अमेरिकी अनुदान लिने हो, तर नेपाललाई हित हुनेगरि लिने । सम्झौतामा लेखिएका भाषा र शब्द मिलाउने कुरा छ, यसमै सहमति हुन्छ ।’ 

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने बिडारीको दाबी छ । उनले भने, ‘उहाँको प्रष्ट धारणा छ यो गठबन्धन टुट्दैन् । एमसीसी पास हुन्छ । हामीले पनि गठबन्धन टु्ट्दैन भनेका छौं ।’

Advertisement

Advertisement