अब देउवा मुख बाँधेर बस्नुहुन्न, एमीसी पास नगर्नेहरुलाई सरकारबाट हटाइन्छः खतिवडा

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कि त एमसीसीको पक्षमा उभिनुपर्यो होईन भने तत्काल सरकार छोड्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लबमा शनिबार उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीको कारण राजनीति अर्कैतर्फ मोडिएको सुनाए । खतिवडाले भने, ‘स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । अहिले सबै दल त्यतातिर केन्द्रित हुनुपर्ने हो । तर, अहिले हामी दुई विषयमा केन्द्रित भएका छौं । एउटा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगार्ईएको छ, अर्को एमसीसी संसद्मा टेबुल भएको छ ।’ कांग्रेस सुरुदेखि नै आफ्नो विचार र अडानमा अडिग रहँदै आएको पनि उनले सुनाए । 

Advertisement

खतिवडाले सरकारमा सहभागी दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका प्रस्तावको पक्षमा नउभिएकोमा गुनासो पोखे । उनले भने, ‘अब प्रधानमन्त्री मुख बाँधेर बस्नुहुँदैन् । सरकारमा बस्ने अनि प्रधानमन्त्रीले अघि सारेको प्रस्तावको विरोध गर्ने काम भइरहेको छ । अब उहाँले यस्ताखाले साथीहरुलई सत्तामा राख्नुहुन्न । प्रचण्ड र माधव नेपालका पार्टीका साथीहरुले अब कि सरकार छोड्नुहोस कि एमसीसी रोज्नुहोस् । राजनीतिक स्वार्थ, भोट र सत्ताको दाउपेजको रुपमा प्रयोग गर्ने बानी अब नेताजीहरुले अन्त्य गरौं ।’

नेता खतिवडाले दातृ निकायसँग भेट्दा तथा अमेरिकन भेट्दा एमसीसी पास गर्छु भन्ने  बाहिर अर्को मान्छे भेट्दा पास गर्नुहुँदैन भनेर बोल्ने कुरा गलत हो भन्दै कि सम्झौता नै गर्नुहुँदैन थियो, गरेपास पास गर्नुपर्छ भने । उनले पोखरा विमानस्थल बनाउन २ देखि ३ प्रतिशत ब्याजमा चीनसँग ऋण लिएको पनि स्मरण गराए । 

पोखरा विमानस्थल बनाउँदा ठेकेदार, कामदार, सामान सबै चीनबाट आईरहेको र २ किलोमिटरको पोखरा विमानस्थल बनाउन २५ अर्ब लागत लागिसकेको सुनाउँदै खतिवडाले उता, तीन किलोमिटरको भैरहवामा विमानस्थल बनाउँदा ७ अर्बमा बनिसकेको बताए । उनले भने, ‘चीनसँगको लोन हामीले तिर्नुपर्छ । त्यस्तो ऋण दिएर बनाउन हामी तयार हुने । तर, अमेरिकाले अनुदान दिँदा किन विरोध भएको होला ?’ 

अमेरिकाले दिने रकम उर्जा र सडकको लागि हो भन्दै उनले अहिले आएर राष्ट्रघाती भनेर विरोध गरिएको बताए । खतिवडाले भने, ‘सत्तामा बस्ने, मन्त्री हुने, अनि बाहिर विरोध गर्दै प्रधानमन्त्रीको प्रस्ताव असफल पार्न खोज्ने साथीहरुले विचार पुर्याउनुपर्छ । भोलि प्रधानमन्त्रीले पनि हटाउनुहोला । मलाई लाग्छ यो एमसीसी अनुमोदन हुन्छ ।’

Advertisement

Advertisement