एमसीसीका आपत्तिजनक बुँदाहरु संशोधन नभएसम्म पास गर्ने कुरा स्वीकार गर्न सकिन्नः खनाल

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमसीसी सम्झौतामा आपत्तिजनक प्रावधानहरु रहेकाले ती बुँदाहरुको संशोधन र परिमार्जन बिना संसदबाट पारित गर्न नसकिने बताएका छन् । 

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने बताएका हुन् । सम्झौतामा सच्याइएको कुराहरु सम्झौताको अभिन्न अंग हुने कुराको सुनिश्चितता भएमात्रै अनुमोदन हुनसक्ने खनालको भनाई छ । 

Advertisement

उनले भने, ‘यो अनुमोदनको कुरो आफैँ नाटक जस्तो मात्रै नहोस् । त्यसो भएको हुनाले हामीले संशोधन गर्ने प्रक्रिया यो सम्झौतामा राखिएको छ । त्यो प्रक्रियालाई पनि बन्द गर्नुपर्ने हुन्छ । हामीले जसलाई अनुमोदन गर्छौ त्यो अनुमोदन गरेर कहीँ संशोधन गर्नुपर्ने भयो भने दुई वटा देशको सरकारहरुले समझदारी गरेर मात्रै संशोधन गरेर गर्ने कुरा हुनुपर्छ ।’ 

एकतर्फी रुपले एमसीसीले चाहेमा संशोधन गर्ने कुराहरु राख्ने हो भने यो अनुमोदनको कुनै अर्थ नहुने खनालले बताए । सम्झौतमा भएका जति पनि आपत्तिजनक बुँदा तथा प्रावधान, धारा, उपधाराहरु सच्याउने ढंगले र सच्याइएको कुरालाई सहमती, सम्झौताको अभिन्न अंग हुन्छ भन्ने कुराको सुनिश्चितता गरेर मात्रै अनुमोदन गर्ने दिशातर्फ अगाडी बढ्न सकिने उनले 
 बताए । 

खनालले अन्यथा यथास्थितिमा ‘नो एमसीसी’ भने । उनले भने, ‘म फेरि पनि भन्न चाहान्छु नो एमसीसी यथास्थितिमा । हामी यथास्थितिमा एमसीसीलाई परित गर्ने पक्षमा छैनौँ । यसको व्यापक संशोधन, परिमार्जन, परिष्कार आदि गरेर त्यसको सुनिश्चितता भयो भने त्यो अवस्थामा हामीले सोच्न सकिने कुरा हुन्छ ।’

खनालले एमसीसीसँग भएको सम्झौताको सबै प्रक्रियाहरुको बारेमा सांसदहरुले जान्न र छलफल गर्न पाउनुपर्ने बताए । उनले प्रमुख प्रतिपक्ष दलको अवरोधका बीचमा छलफल भइरहेको भन्दै बेलमा शान्ति स्थापना गरेर छलफल गरे मात्रै छलफल सार्थक हुने बताए । 

Advertisement

Advertisement