काठमाडौं। कोरोना महामारीका कारण लामो समयदेखि सुनसान जस्तै रहेको नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य ठमेलमा अहिले भने चहल पहल बढ्न थालेको छ । कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्ने भनेर लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञासँगै पर्यटन आगमन बन्द भएपछि ठमेल थला परेको थियो ।
विगत दुई बर्षदेखि ठूलो आर्थिक क्षति र मानसिक तनाव पनि खेप्दै आएका ठमेलका व्यवसायी कहिले महामारी अन्त्य होला र पर्यटकीय चलपहल बढ्ला भन्ने आशामा बन्दै आए । घरधनीलाई चर्को घरबहालदेखि सरकारलाई कर र कर्मचारी तथा कामदारलाई पारिश्रमिक दिनुपर्दा धेरै ठमेल क्षेत्रका कतिपय पर्यटन व्यवसायीको उठिवास भयो कतिपयले घरधनी र सरकारबाट केही राहत पनि पाए ।
तर कोरोना महामारीबाट भएको क्षति पूर्ति हुन व्यवसाय लयमा फर्किएपछि पनि महिनौ र बर्षौं कुर्नुपर्ने अवस्था छ । कोभिड महामारीकै कारण कतिपय व्यवसायीहरु आफ्नो अफिस आफ्नो घर वा अन्यत्र सारिसकेका छन् भने कतिपय व्यवसायबाटै पलायन भएका छन् । कतिपय व्यवसायीले भने आफ्नो व्यवसाय परिवर्तन गरेका छन्।
रोड हाउस क्याफेका इन्चार्ज रामप्रसाद दाहाल भन्छन्, ‘कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएको थियो। अहिले हप्ता दश दिनयता फाट्टफुट्ट पर्यटक देखिन थालेका छन् । आन्तरिक पर्यटक पनि आउन थालेका छन् ।’ उनले विस्तारै पर्यटकहरु बढ्ला कि ! भने आशा प्रकट गरे ।
कोरोनाको कहर कम भएसँगै पर्यटकहरु देखिन थालेपछि ठमेलका व्यवसायीले विभिन्न अफर र विशेष योजना पनि ल्याउन थालेका छन् । उनीहरु सकेसम्म पर्यटक आकर्षिक गर्ने र ठमेललाई पूर्ववत अवस्थामा फर्काउन हतारिएका छन् । अब फेरि कोभिड महामारी वा अरु कुनै अवरोध नआओस भन्ने कामना गर्दै व्यवसायी ठमेलमा पर्यटकको भीड हेर्न चाहान्छन् ।
दाहाल भन्छन्, ‘कोरोनाका कारण लामो समय व्यवासाय बन्द गर्नु पर्यो । विस्तारै सरकारले तोकेको प्रोटोकल अनुसार नै हामीले व्यवासाय पनि गर्यौ । आजको दिनसम्म चलाईरहेका छौं । सायद अब कोरोनाको अर्को लहर नआउला । पर्यटक आगमन बढ्ला । हामी आशा गरौं । कामना गरौं ।’
अहिले ठमेलका होटलहरु बुकिङ पनि हुन थालेको छ । यूरोपतिरका पर्यटकहरु आउन थालेका छन् । ठमेलका व्यवसायहरुमा व्यवसायी तथा कर्मचारीहरुको गतिविधि बढेको देख्न सकिन्छ । कतिपयले आफ्नो कार्यालय तथा सेवास्थललाई सुधार र परिमार्जन गर्न खोजेको, साजसज्जा गरेको पनि देखिन्छ ।
हिमालयन एशिया टुर एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक कृष्णबिलास अधिकारी भन्छन्, ‘नेपालमा मात्र कोरोना संक्रमण घटेर हुन्न । विदेशतिर संक्रमण दर बढी देखिन्छ । नेपाल आउने पर्यटकहरु सुरक्षित महशुस गरेर आउन सकिरहेका छैनन् । यसो स्थिति हेर्दा अब विस्तारै आउँछन् कि भन्ने देखिन्छ ।
उनले नेपालको पर्यटन क्षेत्र कोभिडका कारण सबैभन्दा धेरै प्रभावित भएको भए पनि अब पर्यटन गतिविधि बढाउनु पर्छ, यस क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ भन्नेतर्फ सरकारले त्यति ध्यान नदिएको गुनासो गरे । अधिकारीले थपे, ‘मार्चपछि चाहीं अलिकति आशा जागेको छ । विभिन्न देशबाट बुकिङ आइरहेको छन् । तर बुकिङ आउने, क्यान्सलेशन गर्ने भइरहेको छ ।’
अधिकारीले पर्यटन व्यवसायले पिकअप लिइरहेको बेलामा फेरि ओमिक्रोन भाइरसको संक्रमण बढेर ब्याक हुनुपरेको अनुभव सुनाए । अब यस्तै भइरहे अफिस नै घरमा सार्नुपर्ने दिन पनि आउने उनले बताए । दुई बर्षयता ठमेलका धेरै पसलहरु बन्द भइसकेको छन् । जसका कारण धेरै ठाउँहरुमा ‘टू लेट’ भनेर सुचना टाँसिएको देख्न सकिन्छ ।
अधिकारीले ठमेल एउटा पर्यटनको हब भएको बताउँदै कोभिडले पर्यटन गतिविधि ध्वस्तै पारेको बताए । सरकारले नै नेपाल सुरक्षित छ भनेर सन्देश प्रवाह गरे विदेशी पर्यटकहरु नेपाल आउने उनको सुझाव छ ।
एभोकाडो क्याफेका कार्यकारी प्रमुख गिरीराज भट्टले ठमेलमा क्याफे खोलेको ३ महिना पुग्न लागेको छ । कोभिड महामारी कै बीचमा जोखिम मोलेर क्याफे खोलेका उनी ठमेलको पर्यटन चाँडै लयमा फर्किने प्रतिक्षामा छन् । भट्टको बालुवाटारमा पनि अर्को एभोकाडो क्याफे छ जसले राम्रै व्यवसाय गरिरहेको छ । बालुवाटारको क्याफेबाट राम्रै भएकाले ठमेलमा पनि अर्को क्याफे खोलेको उनले सुनाए ।
भट्ट भन्छन्, ‘जति बालुवाटारमा चहलपहल छ, यता चाहीं छैन् । पर्यटकहरु नआएकोले हो । विस्तारै बढ्ला । सधैं यस्तै नरहला भनेर सुरु गरेको हो ।’ आफ्नो क्याफेमा विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटकहरुकै चहलपहल रहेको बताए । भट्टले थपे, ‘हाम्रो टार्गेट पनि विदेशीभन्दा आन्तरिक पर्यटक नै आकर्षित गर्ने भन्ने हो । विदेशी पनि आकर्षित गर्ने हो । मेनु पनि त्यसरी नै राखेका छौं ।’
सरकारले कुनै राहत, सहुलियत र प्रोत्साहन नदिएको अवस्थामा पनि आफूहरुले ४० जनालाई रोजगारी दिएर खाने बस्ने व्यवस्था गरेर राखेको बताउँदै पर्यटन व्यवसायी र मजदुरका समस्याप्रति सरकारको खासै ध्यान नगएको गुनासो पोखे ।