काठमाडौं। पूर्वी नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपाल पर्यटन बोर्डले सुनसरीको धरान गल्फ क्लबमा आयोजित गल्फ प्रतियोगिताको कार्यक्रममा सहभागिता जनाएको छ । कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राई, धरान नगरपालिकाका मेयर तिलक राई, पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीसहित कर्पोरेट क्षेत्रका प्रतिनिधि सहभागी थिए ।
बोर्डले प्रदेश एकमा इष्ट ट्राभल मार्ट आयोजना गर्ने घोषणा गरेको छ । पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आउँदो चैत्र ११ देखि १३ गतेसम्म यो मार्ट आयोजना गरिने सीईओ रेग्मीले जानकारी दिए ।
उनले पूर्वमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सो ट्राभल मार्टको आयोजनाले यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए । पूर्वी नेपालको पर्यटन क्षेत्रलाई स्थानीय तथा क्षेत्रीय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ विगत केही वर्षदेखि बोर्डले स्थानीय सरोकारवालाहरुको सहकार्यमा इष्ट ट्राभल मार्टको आयोजना गर्दै आएको छ ।