दुस्मनीपूर्ण राजनीति नगर्न ओलीको देउवालाई चेतावनी, एमसीसी कार्यान्वयनमा एमालेको आशंका

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुस्मनीपूर्ण राजनीति गरेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् । 

एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले देउवाको नाम नलिइकन कांग्रेसले दुश्मनीपूर्ण राजनीति गरेको बताएका हुन् । विगतमा पनि कांग्रेसले दुस्मनीपूर्ण राजनीति गरेको स्मरण गर्दै ओलीले भने, ‘कहिले एउटाले लोकेन्द्रबहादुर बोकेको छ । लोकेन्द्रबहादुर चन्दलाई बोकेको देखेपछि हाम्रा छैनन् भनेर अर्कोले सूर्यबहादुर थापालाई बोकेको छ । यस्तो नगरौं भन्ने हो  ।फेरि पनि कांग्रेसले यस्तै गर्छ भने एमाले बाध्य हुन्छ । संयमको पनि सीमा होला ।’

Advertisement

एमसीसी पास गर्ने क्रममा सत्ता गठवन्धनसँग पनि बार्गेनिङ गर्ने र आफूसँग पनि पटक पटक सहकार्यको कुरा गरे पनि अन्तिममा गठवन्धनलाई नै निरन्तरता दिएपछि ओली रुष्ट भएका हुन् । उनले  एमालेले गठबन्धनको राजनीति नगर्ने बताए । 

एमालेले अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता कार्यान्वयनमा आशंका जनाएको छ । एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने भन्दै सो पार्टीले जारी गरेको प्रेस वक्तव्यमा सावधानीपूर्ण तरिकाले समर्थन जनाएजस्तो गरी कार्यान्वयनमा आशंका प्रकट गरेको छ । साथै, एमालेले अमेरिकी अनुदान लिँदा चिनियाँ अनुदान पनि अस्वीकार गर्न नहुने पनि संकेत गरेको छ । यसअघि चिनियाँ राष्ट्रपति नेपाल आउँदा घोषणा भएको ५६ अर्ब अनुदान सरकारले लिन आनाकानी गर्दै आएको छ । 

वक्तव्यमा भनिएको छ, ‘एमसीसी परियोजना सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’

संसद्‍को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।

Advertisement

Advertisement