काठमाडौं। पहिलो पटक नेपालतर्फबाट चो ओयु (८,१६८ मिटर) हिमालको आरोहण गर्ने प्रयास खराब मौसमका कारण रद्द भएको छ ।
‘ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’को आरोही टोली आधार शिविर हुर्दै ७,९०० मिटर उचाइसम्म पुगे पनि खराब मौसमका कारण शिखर चुम्न भने असफल भएको छ । खराब मौसम र विन्टर एक्स्पडिशन सक्किएकाले आरोहण रद्द गर्नुपरेको सहभागी टोलीले जनाएको छ ।
त्यस्तै, पायोनियर एडभेन्चर ट्रेक्सका अर्को आरोही टोली पनि ७,६५० मिटर उचाइसम्म पुगी आरोहण रद्द गर्न बाध्य भएको छ । यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको चो ओयु हिमालको आरोहण पहिलो पटक नेपालबाट खोल्न दुवै आरोही टोलीले प्रयास गरेका थिए ।
नेपालतर्फबाट रुट निर्माणका लागि आरोही १०, कुक र कुक हेल्पर गरी १२ जनाको टोली थामे हुँर्दै आधार शिविर पुगी ७,६५० मिटर उचाइसम्म पुगेको थियो । खराब मौसम, आरोहण सामगीहरुको अभाव र विन्टर एक्सपेडिशन पनि सक्किएकोले फकिने निर्णय गरिएको पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
उनले भने, ‘हामी चो ओयु हिमाल आरोहणको रुट निर्माणमा जारी नै राख्नेछौं। हामीले पायोनियर रुट निर्माण गरेका छौं । चो ओयु आरोहणका लागि आरोही टोलीहरुले केही आर्थिक सहयोग आफै गरेका थिए भने केही खर्च पायोनियरले गरेको थियो ।
विश्व कीर्तिमानी आरोही तथा पायोनियर एडभेन्चर ट्रेक्सका संस्थापक मिङ्मा दोर्ची शेर्पाको नेतृत्वमा नेपालतर्फबाट पहिलो पटक चो ओयु हिमालको आरोहणको लागि ११ जना टोली ७६५० को उचाइसम्म पुगेर फर्किन बाध्य भएको छ । खराब मौसमका कारण यस पटकको विन्टर एक्सपेडिशन पूरा हुन नसके पनि आरोही टोलीहरु यति उचाइसम्म पुग्नु भनेको ठूलो उपलब्धि भएको अध्यक्ष शेर्पाले बताए ।
नेपालतर्फबाट रुट निर्माण संभव रहेको बताउँदै उनले आउने वसन्त ऋतुसम्म नेपालतर्फबाट रुट निर्माण गर्ने योजना रहेको बताए । पायोनियर एडभेन्चर ट्रेक्सको टिममा आरोही गाइड मिङ्मा दोर्ची शेर्पा, पेम्बा ओङ्छु शेर्पा, पासाङ तेन्जी शेर्पा, मिग्मा दोर्ची शेर्पा, लाक्पा तेन्दु शेर्पा, फुर्वा कुसाङ शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, पासाङ दोर्जे शेर्पा, कामिरिता शेर्पा, दुक्पा छिरि शेर्पा, ल्हाक्पा गेलु शेर्पा छन् ।
त्यस्तै, सोही लक्ष्य लिई आरोहणमा सहभागी ‘चो ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’का प्रबन्धक अशोक राईले अहिले मौसमका कारण आरोहण सफल नभए पनि अर्को पटक पुनः प्रयास गर्ने बताए । उनले भने, ‘आरोही टिम ७९०० मिटर उचाइसम्म पुगी फकेका छन् । तर उनीहरुको लक्ष्यबाट फकेका होइन् । अर्को प्रयासका लागि आरोही टिमहरुसँग बसेर छलफल गर्नेछौं । हामीले हार खाएका छैनौं ।’
यो टोलीमा आरोही गाइड गेल्जेन शेर्पा, टासी शेर्पा, लाक्पा देण्डी शेर्पा, पेम्बा तेन्जी शेर्पा, तेन्जीङ गेल्जेन शेर्पा, गेसमान तामाङ, विवस शेर्पा, कर्मा शेर्पा, फुरी कित र पेम्बा दोर्जी शेर्पा छन् ।