यो देशले कम्युनिष्ट र कांग्रेसको विकल्प खोजेको छ, त्यसको विकल्प राप्रपा मात्रै होः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको बताएका छन् । 

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्खल्लिन पुगेको बताएका हुन् । 

Advertisement

प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको भन्दै लिङदेनले दलहरुको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताए । उनले राज्यका प्रमुख तीन अंगबीच हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको बताए । 

जनताले सरकार भएको अनुभूति गर्न नपाएको लिङदेनको भनाई छ । उनले भने, ‘अहिले प्रमुख राजनीतिक दलहरुका सत्ताकेन्द्रीत क्रियाकलापका कारण गम्भीर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुबीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । लामो समयदेखि संसद भूमिकाविहीन छ । संसद केही राजनीतिक दलहरुको अर्कमण्यताका कारण बन्द छ । संसद संसदजस्तो छैन् । अदालतमाथिको राजनीतिक हस्तक्षेप र अदालतभित्रै विद्यमान भ्रष्टाचारका कारण अदालत, अदालत जस्तो छैन् । जनताले सरकार भएको अनुभूति गर्न नपाएको अवस्था छ । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अगंमा भ्रष्टाचार, र भ्रष्टाचारमा सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन् ।’ 

आफूभन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भत्र्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा लिनुपर्ने उनको तर्क छ । लिङदेनले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढीको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपाल वैदेशिक सम्बन्ध पूर्णरुपमा खल्बल्लिन पुगेको बताए । 

उनले भने, ‘नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ । सत्तापक्ष र प्रमुख राजनीतिक दलहरुका क्रियाकलापका कारण हुने नोक्सानीको मूल्य केवल सम्बन्धित राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन् । त्यसको भार सिंगो मुलुकले बेहोर्नुपर्नेछ । अहिले देश त्यही बाटोतर्फ उन्मुख छ ।’

अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे । देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे । लिङदेनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए । 

उनले भने, ‘कम्युनिष्ट पार्टीहरु तथा नेपाली कांग्रेसले अवलम्वन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्वन गरेको निरन्तरतासहितको परिवर्तन नै हो । कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ । र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ । यो वास्तविकता हो । राप्रपाबाहेक कम्युनिष्ट र कांग्रेसको विकल्प तत्काल अरु कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन् । त्यसैले आगामी दिनमा राप्रपालाई निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता हो ।’

राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष लिङ्देनबाट प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङबाट प्रस्तुत सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकबाट प्रस्तुत आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठक बिहीबार पनि बस्ने छ । 

Advertisement

Advertisement