रुस–युक्रेन युद्धः दुई हजार निर्दोष गैरसैनिकको मृत्यु, आज दोस्रो चरणको शान्तिवार्ता

Advertisement

एजेन्सी । रुसले गरेको सैन्य आक्रमणमा दुई हजार निर्दोष गैरसैनिकको मृत्यु भएको युक्रेनले बताएको छ । युक्रेनी अधिकारीहरूका अनुसार एक सातामा दुई हजार आफ्ना गैरसैनिक नागरिकको मृत्यु भएको बताएको हो । 

युक्रेनले आपतकालिन सेवामा सक्रिय १० जना उद्धारकर्मीहरू पनि मारिएको जनाएको छ । रुसी आक्रमणमा भएको चारसय  आगलागी र ४१६ बम निष्क्रिय पारिएको भन्दै रुसले सयौँ यातायात सञ्जाल, आवासीय भवन, अस्पताल तथा बालबालिका पढ्ने स्थलहरू ध्वस्त पारेको युक्रेनले जानकारी दिएको छ । 

Advertisement

रुसले युक्रेनमाथि आक्रमणका क्रममा करिब पाँच सय सैनिक मारिएका र झन्डै एक हजार छ सय घाइते भएको बताएको छ । तर युक्रेनले भने मृत्यु हुने रुसी सैनिकको संख्या हजारौंमा रहेको दावी गरेको छ । 

युक्रेनमाथि भएको आक्रमणको विश्वभर निन्दा भइरहेको बेला युक्रेन र रुसी अधिकारीहरुबीच बिहीबार दोस्रो चरणको वार्ता हुँदैछ । वार्ता बेलारुसी सीमा क्षेत्रमा हुँदैछ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि रुस र युक्रेनबीच युद्धविराम गराउने कूटनीतिक प्रयासलाई आफ्नो देशले समर्थन गर्ने बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घले युक्रेन–रुस युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने अनुमान गरेको छ । यता अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युक्रेनमा भएको सम्भावित युद्ध अपराधबारे अनुसन्धान शुरू गर्न लागेको बताएका छन् । 

Advertisement

Advertisement