ट्रम्प–कमला बहसः ट्रम्प तानशाहबाट प्रभावितः कमला, इतिहासकै खराब उपराष्ट्रपतिः ट्रम्प

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि दुई उम्मेदवारहरुबीच आमनेसामने बहस भएको छ । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच विभिन्न मुद्दामा चर्को बहस भएको हो । 

उनीहरु पहिलो पटक सार्वजनिक बहसमा उत्रिएका हुन् । संयमितरूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएको बीबीसीले जनाएको छ । त्यस क्रममा ट्रम्प ज्यादा आक्रोशित देखिएका थिए । ट्रम्प पूर्वराष्ट्रपति हुन भने कमला वर्तमान उपराष्ट्रपति हुन् । 

Advertisement

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको उक्त बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए ।

प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिको तथ्य जाँच गरिरहँदा उनले आफ्नो बचाउमा निकै समय खर्चिएका थिए । ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका र्‍यालीहरूमा भिडको प्रकृति अर्थात् कार्यक्रम नसकिँदै भिड बाहिरिने गरेको कुरा उठाइन् भने ट्रम्पले ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाएका थिए ।

बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्पले कमला र उनको पार्टीमाथि आलोचना गरेका थिए । उनले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिए भने कमलाले लघु उद्यमहरूबारे कुरा गरेकी थिइन् । ट्रम्पले बारम्बार आप्रवासन सङ्कटको कुरा उठाइरहँदा ह्यारिसले दर्शकहरूलाई ट्रम्पमाथि अदालतमा चलिरहेका कैयौँ मुद्दाबारे स्मरण गराएकी थिइन् । 

ट्रम्पले कमलालाई इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति भन्न समेत भ्याए । कमला युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप पनि ट्रम्पले लगाए । युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले युद्धको अन्त्य चाहेको जबाफ दिएका थिए ।

इजरेलका विषयमा ट्रम्पले बाइडेन प्रशासनले दुई राज्यको समाधानु र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै हुँदैनथ्यो भने । कमलाले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने बताएकी थिइन् । उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन् ।

विदेश नीतिका विषयमा कमलाले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाइन् । वर्तमान राष्ट्रपति जो बाइडेन पछि हटेपछि कमला डेमोक्राटबाट उम्मेदवार भएकी हुन् भने रिपब्लिकनबाट ट्रम्प तेस्रो पटक उम्मेदवार भएका हुन् ।

Advertisement