लघुवित्त वित्तीय संस्थाले घटाए ३३ प्रतिशत लगानीः बढ्यो नाफा

Advertisement

काठमाडौँ । चालु आवको ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरुको लगानी घटेको छ । 

नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरीवेक्षण प्रतिवेदन अनुसार २०७८ पुस मसान्तमा लघुवित्तहरुको कूल लगानी ९ अर्ब ९१ करोड पुगेको छ । जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । 

Advertisement

अघिल्लो आवको सोही अवधिमा कूल लगानी ७०.४० प्रतिशतले बढेको थियो । विशेष गरी मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएका कारण समग्र लगानीमा ह्रास आएको राष्ट्र बैंक लघुवित्त सुपरीक्षण विभागले जनाएको छ ।

लघुवित्तहरुले मुद्दती निक्षेपमा पुस मसान्तसम्म ८ अर्ब २७ करोड राखेका छन्, जुन असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो । 

सुपरीवेक्षण प्रतिवेदनका अनुसार लघुवित्तहरुको पूँजीकोषको स्थिति सन्तोषजनक छ । त्यस्तै थोक कर्जा प्रदायक लघुवित्तहरुको सापटी रकममा बृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्म लघुवित्तहरुले ४५ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गरेका छन् । जुन २०७८ असार मसान्तको तुलनामा १०.४९ प्रतिशत बढी हो । 

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले निक्षेप संकलन र सापटी रकम बढाएका छन् । २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले निक्षेप तथा बचत संकलन रू. १ खर्ब ४६ अर्ब ७ करोड र सापटी रू. १ खर्ब ८९ अर्ब ८४ करोड गरी जम्मा रू. ३ खर्ब ३५ अर्ब ९० करोड वित्तीय स्रोत संकलन गरेका छन् । निक्षेप संकलन र सापटी रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रयमाससम्म क्रमशः १३.११ र ३०.९१ प्रतिशतले बढेकोमा यस आर्थिक वर्षको सोही अवधिमा निक्षेप संकलन र प्राप्त सापटी रकम क्रमश ११.९९ र १४.३८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटी रकममा वृद्वि भएको छ भने निष्क्रिय कर्जाको अनुपातमा ह्रास आएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७८ असारको तुलनामा १३.७९ प्रतिशतले वृद्वि भई २०७८ पुस मसान्तमा रू. ५४ अर्ब ८४ करोड पुगेको छ । समीक्षा अवधिमा कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा रु. १८ करोड अर्थात ०.३४ प्रतिशत मात्र रहेको छ । 

२०७८ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.४४ प्रतिशत रहेको थियो भने २०७७ पुस मसान्तमा यस्तो अनुपात ०.५७ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको छ भने निष्क्रिय कर्जा १२.०३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सक्रिय कर्जा ७.०५ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा ५१.०४ प्रतिशतले बढेको थियो । 

लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ । २०७८ पुस मसान्तमा प्रवाह गरेको कर्जा रकम रु. ४ खर्ब ३० अर्ब ६८ करोड मध्ये रु. १ खर्ब ९५ अर्ब ८१ करोड अर्थात ४५.४७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०७८ असार मसान्तमा कृषि क्षेत्रमा रु. १ खर्ब ६३ अर्ब ८६ करोड अर्थात ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.३९ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३१.२२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको हिस्सा १२.७३ प्रतिशत रहेको छ । 

नाफा ४९.८१ प्रतिशत बढाए
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को दोस्रोत्रयमाससम्ममा ब्याज आम्दानी रु. २ अर्ब ३४ करोड र ब्याज खर्च रु. १ अर्ब २० करोड रहेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुले रु. ८२ करोड खुद मुनाफा गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासको तुलनामा ४९.८१ प्रतिशतले बढी हो । 

समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रयमाससम्ममा खुद मुनाफा रु. ४ अर्ब ६१ करोड रहेकोमा २७.७३ प्रतिशतले वृद्वि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८९ करोड पुगेको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. २५ अर्ब ८२ करोड र ब्याज खर्च रु. १२ अर्ब रहेको छ । यस अवधिमा सञ्चालित ६३ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।

लघुवित्तको संख्या ६७,  शाखा संख्या ४९६५
लघुवित्त वित्तीय संस्थाहरुको संख्या पछिल्लो समयमा मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेतापनि शाखा विस्तारको क्रम भने जारी नै रहेको छ । २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७८ पुस मसान्तसम्ममा उक्त संख्या घटेर ६७ कायम भएको छ । ६७ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोककर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । 

लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा ७.४४ प्रतिशतले वृद्धि भई ४ हजार ९ सय ६५ पुगेको छ । सो अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको केन्द्र संख्या ११.४३ प्रतिशतले वृद्धि भई ४ लाख ४ हजार, सदस्य संख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी संख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुमा २३ हजार २ सय ८१ जना कर्मचारीहरु कार्यरत रहेका छन्, जुन २०७८ असारमसान्तको तुलनामा ११.५४ प्रतिशतले बढी हो ।

प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११३५ वटा शाखाहरु संचालनमा रहेका छन् । लघुवित्त वित्तीय संस्थाको १०३१ शाखाहरु भएको मधेस प्रदेश दोस्रो स्थानमा रहेको छ । यसैगरी प्रदेश नं. १ मा लघुवित्त वित्तीय संस्थाको ८४९ शाखाहरु, बाग्मती प्रदेशमा ७२० शाखाहरु, गण्डकी प्रदेशमा ५६३, कर्णाली प्रदेशमा २२५ र सुदुर पश्चिम प्रदेशमा ४४२ शाखाहरु संचालनमा रहेका छन् ।

‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् 

Advertisement

Advertisement