काठमाडौं । जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । उनले सबै पूर्वाधार तयार भई परीक्षणसमेत भइसकेको जनाउँदै तर सरकारले नै सञ्चालनमा चासो नदिएको संकेत गरेका छन् ।
जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसके पनि यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा ल्याउन आनाकानी गरिँदै आएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक (जीएम) निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्नसक्ने बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानी बुधबार उनले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको भने बताए । झाले रेल्वे कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानूनसमेत बनाइसकिएको बताए । रेल्वे सेवा अहिले सञ्चालनमा आउँछ ? भनेर मानिसहरु उत्साहित रहेको भन्दै उनले रेल चल्न सुरु भएसँगै यात्रुलाई यातायातमा सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
झाले कम्पनी नयाँ भएकाले यसलाई स्थापित गराउनको लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘रेल परीक्षण गरेर सम्पूर्ण तयारी पूरा गरेका छौं । सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं । सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ । मन्त्रालय पनि यो विषयमा सकारात्मक छ । रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ । पछिल्लो समय केही प्राविधिक समस्याहरु भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौं । रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरु उत्साहित छन् । रेल सञ्चालनमा आउँदा घाटामा विल्कुल जाँदैनौं ।’
कम्पनी सुरुमा स्थापित हुनको लागि सरकारको लगानी चाहिने बताउँदै उनले सरकारले सहयोग गर्नुपर्ने बताए । रेल्वे कम्पनीले सरकारका अन्य कम्पनीले नाफा कमाए भन्दा राम्रो लाभ हुने बताए । दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरीद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको छ ।
रेल खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन् ।
भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरीद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको छ । वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै यात्रा गर्न आम नागरिक प्रतिक्षामा बसिरहेका छन्।