‘सेभ द त्रीशुली’

र्याफ्टिङको ‘हब’ बन्दैआएको त्रिशुलीको फिस्लिङमा बाँध बन्न लागेपछि पर्यटन क्षेत्र चिन्तित

Advertisement

काठमाडौं। नेपालमा र्याफ्टिङका लागि भोटेकोशी, त्रिशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मर्स्याङदी जस्ता नदी प्रसिद्ध छन् । रिभर टुरिजम (नदी पर्यटन)का लागि  त्रिशुली विशेष मानिन्छ । रिर्भर टुरिजमको सुरुवात नै यही नदीबाट भएको जानकारहरु बताउँछन् । यही त्रिशुली नदीमा बुधबार नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले ‘ १९औँ हिमालयन ‘ह्वाइटवाटर च्यालेन्ज’ सम्पन्न गर्यो । 

त्रिशुली नदी किनारमा पर्यटन उद्योगका लागि अर्बौं लगानी भइसकेको छ । सयौं होटल तथा रिसोर्ट र पर्यटनसँग सम्वन्धित व्यवसाय सञ्चालन हुँदै आएका छन् । हजारौंले रोजगारी पाएका छन् । 

Advertisement

तर र्याफ्टिङको हबको रुपमा विकास हुँदै गएको त्रिशुलीको फिस्लिङमा यो व्यवसाय अवरुद्ध हुने गरी बाँध निर्माणको तयारी गरिएपछि चिन्ता थपिएको छ । उक्त ठाउँमा सय मेघावाटको सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको तयारी गरिएको छ । जलविद्युत आयोजना बन्दा विद्युत उत्पादन भए पनि त्रिशुली नदिमा हुँदै आएको र्याफ्टिङ, कायकिङ्ग व्यवसाय भने करिव समाप्त हुने व्यवसायीहरु बताउँछन् । यसले पर्यटन उद्योगमा भएको अर्बौ लगानी पनि डुब्ने उनीहरुको चिन्ता छ । 

नाराका महासचिव शिशिर खनालले फिसलिङ एउटा पर्यटकीय गन्तव्य भएको बताउँदै यस ठाउँमा जलविद्युत आयोजना बन्दा र्याफ्टिङ गर्ने मुख्य क्षेत्र नै पतन हुने अवस्था आएको बताए । उक्त ठाउँमा ८० प्रतिशत नेपाल आएका विदेशी पर्यटक र बाँकी स्वदेशी पर्यटक आउने उनले बताए । 

यति महत्वपूर्ण ठाउँमा बाँध बनाउने तयारीले आफूहरुलाई चिन्तित बनाएको बताउँदै खनालले त्रिशुलीलाई बचाउन सबैले पहल गर्नुपर्ने बताए । त्रिशुली नदी बचाउनकै लागि आफूहरुले यस ठाउँलाई आधार बनाएर कार्यक्रम गर्दै आएको पनि खनालले बताए । 

उनले भने, ‘हाम्रो मुख्य क्षेत्र भनेको देवीघाटदेखि देवघाटसम्म हो जुन र्याफ्टिङको लागि विश्व प्रख्यात छ ।  विदेशी पर्यटक आउँदाखेरी ८० प्रतिशतले देख्ने नदी यही हो । ५० प्रतिशत विदेशी पर्यटकले र्याफ्टिङ गर्ने नदी पनि त्रिशुली नै हो ।’

र्याफ्टिङ गर्ने मुख्य क्षेत्र फिस्लिङमा नै बाँध बन्यो भने यो व्यवसाय सकिन्छ भन्दै खनालले बाँध बनाउनुअघि सरोकारवालाहरुसँग कुनै सल्लाह नभएको गुनासो गरे । उनले  थपे, ‘हामीसँग सरसल्लाह गर्नुपथ्र्यो । त्यस्तो गर्दा दुई चार किलोमिटर तल्लामाथि लाँदा र्याफ्टिङ पनि बच्थ्यो ।, बिजुली पनि उत्पादन हुन्थ्यो । मिलेर काम गर्न सक्यो भने देश पनि विकास हुन्थ्यो ।’

नाराले आयोजना गरेको ‘ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगितामा र्याफ्टिङ, कायकिङ्ग विधामा छुट्टा छुट्टै प्रतियोगिता भएको थियो । नदी पर्यटन र जल खेलकुदलाई प्रवद्र्धन गर्न हरेक बर्ष आयोजना हुँदै आएको यस किसिमको प्रतियोगिता कोभिड महामारीका कारण अघिल्ला दुई बर्ष हुन सकेन् ।  

यस्तो प्रतियोगितामा सहभागीलाई प्रोत्साहन गर्ने र उनीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितादेखि ओलम्पिकमा समेत सहभागी गराउन प्रयत्न भइरहेको आयोजकले जनाएको छ । 

बुधबारको र्याफ्टिङ प्रतियोगितामा १२ टिम थिए भने कायकिङ्गमा लगभग ७० जना थिए । कोभिडका कारण यस बर्षको कार्यक्रममा विदेशी पर्यटक भने सहभागी भएनन् । 

नाराका उपाध्यक्ष मेघ आले मगरले त्रिशली नदी भन्ने वित्तिकै शिवको त्रिशुलबाट उत्पत्ति भएको नदी, गोसाइकुण्डबाट आएको नदी हो भन्दै रिर्भर टुरिजमको सुरुवात नै यही नदीबाट भएको बताए । मगरले त्रिशुलीमा तीन हजार पाँच सयभन्दा बढी रिर्भर गाइटहरु रहेको जानकारी दिए । 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरिरहेको बताए । उनले  खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्यमसँग जोड्नुपर्ने बताए । 

नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृति हो भन्दै उनले र्याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनासहित विकास गर्नुपर्ने बताए । र्याफ्टिङ जस्ता पानीमा खेल्ने अन्य खेललाई सरकारले लगानी बढाउनुपर्ने जरुरी रहेको गहतराजले बताए । 

उनले भने, ‘त्रिशुली, सुनकोसी र भेटेकोसी राजधानीबाट नजिकमा रहेका नदी हुन् । यिनलाई र्याफ्टिङ जलाशययुक्त खेलहरुमा कसरी उपयोग गर्ने र आयआर्जनको स्रोतको रुपमा प्रयोग गर्ने भन्ने विषयमा सरकार लाग्ने छ । नेपाल जलस्रोतको हिसावले विश्वको दोस्रो धनी राष्ट्र हो । प्राकृति हिसावले विश्वको १७ औं धनी राष्ट्रमा पछौं  । हाम्रो समृद्धिको महत्वपूर्ण आधार भनेको हाम्रो प्रकृति र हाम्रो संस्कृति हो । यसलाई जोडेर देशको समृद्धिको आधार कसरी बनाउने कुरामा ध्यान जानुपर्छ ।’

नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सीईओ) डा. धनञ्जय रेग्मीले र्याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानुपर्ने बताए । उनले र्याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताए । 

रेग्मीले धेरै अन्तर्राष्ट्रिय मुलुकहरुले नेपालको सिको गरिरहेको बताउँदै  नेपालमा र्याफ्टिङ गर्नसक्ने नदिहरुलाई राम्रोसँग प्रयोग गर्न नसकेको बताए । उनले भने, ‘संसारभर नेपालले र्याफ्टिङ  सिकाएको छ । अरु देशमा नेपालको सिको गरिरहेका छन । तर हाम्रो खोलाहरुलाई जुन हिसाबले प्रयोग गर्नु पर्ने थियो, त्यो नभएको देखिन्छ ।’

Advertisement

Advertisement