एनसेलले आफ्नो कर्पोरेट अफिस अगाडि बनायो आकर्षक बगैंचा तथा खेल मैदान

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आफ्नो कर्पोरेट अफिस अगाडि रहेको लैनचौरस्थित मैदानको पुनर्निर्माण गरेको छ । 

विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् यो स्थान काठमाडौं महानगरपालिका वडा नं. २६ लाई  हस्तान्तरण गरिनुका साथै आमनागरिकका लागि खुला गरिएको छ । 

Advertisement

यो परियोजना पूर्ण रूपमा वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको हो । नवनिर्मित यस बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो । 

कुल ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । 

स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्ने कम्पनीले जनाएको छ । 

मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था पनि रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं। २६ बीच गत वर्ष सम्झौता भएको थियो । 

जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी)अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायुलाई प्राथमिकतामा राखेर आफूले सामाजिक कार्य गर्दै आएको भन्दै एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.४२ अर्ब रुपियाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पु¥याएको जनाएको छ । 

Advertisement

Advertisement