काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवर्द्धन गर्नको लागि सबै प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनको लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन् ।
मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले त्यी पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताए ।
रेग्मीले पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याकेज बिना नै अत्याधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउनको लागि टुरिजम मार्ट अभियान सुरु गरिएको बताए ।
कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य खोजी रहेकाले त्यो गन्तव्य समयमा नै नेपाल बनाउनु पर्ने आवश्यक रहेको रेग्मीले बताए । उनले बोर्डले भारतका विभिन्न शहरका टुर अपरेटरहरुसँग सहकार्य गरेर उनीहरुको माध्यमबाट नेपालमा भारतीय पर्यटक बढाउने योजना बनाएको बताए ।
पछिल्लो समय भारतीय पर्यटक बढ्दै गएकाले सिमावर्ती क्षेत्रमा ठूला ठूला होटल तथा मनोरञ्जन जोनहरु समेत सञ्चालनमा आएको जानकारी दिँदै रेग्मीले तर अहिले भएका पर्यटन प्रवर्द्धनको लागि सबै भौतिक संरचना पूर्णरुपमा व्यवस्थित नभए पनि आएका पर्यटकलाई सन्तुष्ट बनाउन सक्ने अवस्थामा नेपालको पर्यटन क्षेत्र तयार रहेको बताए ।
उनले कोरोना महामारीको थला परेको पर्यटन उद्योगलाई नयाँ सोचका साथ प्रवद्धन गर्ने उद्देश्यले बोर्डले नयाँ तरिकाबाट काम गर्न लागेको बताए । पछिल्लो १० वर्षको अवधिमा नेपालमा पर्यटन प्रवद्धनको लागि धेरै भौतिक संरचनाको विकास भएको भन्दै रेग्मीले सिमाबर्ती क्षेत्रमा ठूला होटल, क्यासिनो, मनोरञ्जनका जोन, विशेष गरेर नेपाली परिकारका खानाहरु प्रशस्तहरुमा आएकाले भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य नेपाल बन्ने बताए ।
उनले भने, ‘हामीसँग हजारौंको संख्यामा पर्यटक आए भने भौतिक संरचना समस्या हुन्छ । हाम्रा प्रदेशहरु सिमित भौतिक पूर्वाधारहरु रहेका छन । तर सकारात्मक कुरा के छ भने पछिल्लो १० वर्षभित्र त्यहाँको भौतिक संरचनाको लेभल छ । त्यो सकारात्मक रुपमा विस्तार हुँदै गएको छ । सिमा बोर्डर क्षेत्रमा ठूला होटलहरु त्यति नै मात्रामा खुलेका छन् । क्यासिनोहरु आएका छन्। मनोरञ्जन जोनहरु आएका छन । विशेष गरेर नेपाली परिकारका खानाहरु प्रशस्तहरुमा आएका छन् । यस्ता कुराको प्रचार गर्नुको फाइदा के छ भन्दा यो यस्ता स्थानहरु उपयुक्त गन्तव्य बन्नसक्छ । जहाँ शुक्रबार आएर शनिबार र आइतबार घुमेर सोमबार अफिस पुग्न सक्नुहुन्छ । एक दुई घण्टा ड्राइभ गरेर नेपाल आएर दुई दिन मनोरञ्जन गरेर तेस्रो दिन अफिसमा पुग्न किन्छ ।’
रेग्मीले थपे, ‘भारतका विभिन्न सहरका मानिसहरुलाई कहाँ जाऔं कहाँ जाऔं भन्ने भएको हुन्छ । यस्ता गन्तव्यहरु छन त्यहाँ हावा पानी मौसम फरक छ । अहिले आएको हामीले दिन सक्दैनौं । भारतीय पर्यटक सबैले महँगो पाँच तारे होटल पनि खोजेको हुँदैन । हाम्रो संस्कृति देखाउनु पर्छ । यति धेरै होमस्टे खोलिएको छ । तीनलाई बेच्न सक्नुपर्छ । प्याकेज बनाउँदा नै व्यक्तिको आय अनुसारको प्याकेज बनाउनु पर्छ । नेपालमा पाँच तारे होटल देखि सामान्य किसिमका होटलसम्म छन । तर सबै भरिभराउ हुन्छ । कारण के हो भने होटलका जानेहरुको आर्थिक अवस्था फरक फरक छ । सस्ता होटलमा त्यही आर्थिक अवस्था भएका पर्यटकलाई खुवाउन सक्छौं । त्यसैले सबै खाले नेपालमा पर्यटक ल्याउन सक्नुपर्छ ।’
उनले सरकारले पर्यटन प्रवर्द्धन गर्नको लागि नयाँ तरिकाबाट नेपालमा भएका सबै गन्तव्यको प्रचार गरेर त्यही अनुसारको प्याकेज बेच्न सक्नुपर्ने बताए । रेग्मीले पछिल्लो समय नेपालको हवाई उडानमा पनि काठमाडौं केन्द्रित हुन नपरेकाले पर्यटकको लागि राम्रो भएको बताए । अहिले भारतबाट पर्यटकहरु गाडिमा वीरगञ्ज आएर एयरर्पोटमा गाडी राखेर त्यहीबाट पोखरा घुम्न सक्ने वातावरण बनेको उनले बताए ।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गरेर भारतीय पर्यटन बढाउने बोर्डको योजना बनाएको बताए ।